जनता टाइम्स

२५ असार २०७९, शनिबार ०७:३८

उपत्यकामा हैजा संक्रमणका बिरामी बढ्दै : २७ पुग्यो संक्रमितको संख्या


काठमाडौं, २५ असार । काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् ।बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा शुक्रबार थप चार जनामा हैजा पुष्टि भएको छ ।

योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको छ । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको थियो ।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ ।