जनता टाइम्स

४ श्रावण २०७६, शनिबार २३:०२

सरस्वती ज्ञवालीको चर्चित पुस्तक ‘लालटिनको उज्यालोमा’ अब एमोजनमा


काठमाडौं, साउन ४

सरस्वती ज्ञवालीको आत्मकथामा आधारित ‘लालटिनको उज्यालोमा’ पुस्तक चर्चित अन्तर्राष्ट्रिय सपिङ्ग साईट ‘एमाजोन’मा उपलब्ध भएको छ ।

विश्वभर प्रख्यात रहेको सो साइटमा शनिबारदेखि सो पुस्तक राखिएको हो । एमाजोन डटकममा लालटिनको उज्यालो सर्च गर्दा पुस्तक भेटिन्छ । हाललाई अमेरिकामा मात्र तत्काल डेलिभरी गर्न मिल्ने गरी पुस्तक विक्रिमा राखिएको छ । एमाजोनले सो पुस्तकको मुल्य १६ डलर राखेको छ । लेखक ज्ञवालीले अमेरिका लगायत संसारका धेरै देशका पाठक तथा शुभचिन्तकहरुको सल्लाहअनुसार पुस्तक एमाजोनमा राखेको जानकारी दिनुभयो ।

उहाले धेरै पाठकले पुस्तक पढ्न नपाएको र आफुले खोजेको ठाउँमा पनि नभेटिएको गुनासो गरेपछि एमोजनमा राखेको बताउनु भयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नीसमेत रहनु भएकी लेखक ज्ञवालीको सो पुस्तक २०७४ सालको चैत्रमा सार्वजनिक गरिएको थियो ।

‘लालटिनको उज्यालोमा’ एउटी महिलाको आत्मकथा हो । जसको राजनीतिक योगदान महत्वपूर्ण छ । असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथा । एउटा जागिरेको कथा । स्वाभिमानी महिलाको कथा रहेको छ । क्षमतावान र सक्षम भए पनि श्रीमानको प्रगति र उन्नतिका लागि एक कदमपछि बसेर सहयोग गर्ने सहयात्रीको कथा । महिला पुरुषको योगदान, अधिकार र दायित्व समान हुनुपर्छ भन्ने समविकासको सिद्धान्त अँगालेकी महिलाको कथा समेटेको छ ।

पञ्जायती शासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदाको पीडा, जागिरका सिलसिलामा राजनीतिक खिचातानीका कारण आफुले भोगेको सास्ती, अनि अपाङ्ग छोरी जन्मिदाको पीडाको साथै उसको हेरचाह लगायतका अनुभव किताबमा समावेश छन् । लालटिनको उज्यालोमा एउटी महिलाको आत्मकथा मात्रै नभई तात्कालीन सामाजिक राजनीतिक परिवेशको दस्तावेज पनि हो ।

पुस्तक किन्नका लागि यहा क्लिक गर्नुहोस्