लन्डन, २५ असार । यस वर्षको एफएनजे यूके पत्रकारिता पुरस्कार पत्रकार नवीन पोखरेल र खेमराज रानाभाटलाई दिइने भएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने यस पत्रकारिता पुरस्कार पत्रकारद्वय पोखरेल र रानाभाटलाई दिइने भएको हो । पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ प्रदान गरिने जनाइएको छ।
कान्तिपुरमा प्रकाशित ‘बेलायतका विमानस्थलबाट फर्काइंदै नेपाली विद्यार्थी’ शीर्षकको स्टोरीका लागि पोखरेललाई र हिमालखबरमा प्रकाशित ‘बेलायती गोर्खा सैनिक अब आफ्नो कथा, आफ्नै कलम’ शीर्षकको स्टोरीका लागि रानाभाटलाई पुरस्कार सिफारिश गरिएको हो । पुरस्कारका लागि छनोट भएका दुवै पत्रकारलाई सम्मानपत्रका साथ जनही २ सय ५१ पाउण्ड नगदसहित पुरस्कृत गरिने भएको छ ।
भोली लन्डनमा आयोजना हुने पत्रकार महासंघ बेलायतको दशौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ । पुरस्कारका लागि छनोट हुनुभएको पोखरेल विगत डेढ दशकदेखि बेलायतका लागि कान्तिपुर संवाददाताका रुपमा सक्रिय हुनुहुन्छ । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधानसम्पादक रहनुभएको उहाँ पत्रकार महासंघ बेलायतको संस्थापक अध्यक्ष हो ।
त्यस्तै पुरस्कारका लागि सिफारिश हुने रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुनुहुन्छ । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिङ गर्दै आउनुभएको उहाँ युरोपबाट सञ्चालित नेपाली वेभको सम्पादक समेत हुनुहुन्छ । पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसक्नुभएको छ ।
यस वर्षको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ छनोटका लागि शाखाका सल्लाहकार भगीरथ योगी, प्राध्यापक डा. तेजेन्द्र फेराली, डा. ओम गौतम, संगीता मरहट्ठा र डा. सुमाया राई सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा संयोजकको भूमिका योगी र डा. फेरालीले गर्नुभएको थियो ।
पुरस्कारका लागि प्राप्त आवेदनहरुको मूल्यांकनपछि छनोट समितिले उत्कृष्ट स्टोरीका आधारमा शाखालाई सिफारिश गरेको हो । समितिको सिफारिशमा एक र दुई नम्बरमा परेका स्टोरीलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरिएको शाखाले जनाएको छ । शाखाले गत वर्ष स्थापना गरेको पुरस्कार पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्