जनता टाइम्स

२५ असार २०७९, शनिबार २२:४३

फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती पक्राउ


पूर्वी नवलपरासी, २५ असार । फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै नगद ठगी गर्ने गैंडाकोटकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर नगद असुल्न सफल गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको हो । झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा ७ दिन अगाडि चितवन प्रहरीले ती युवतीलाई पक्राउ गरेको जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट उनले २५ लाख ४५ हजार ७ सय नगद उछिट्याएकी हुन् । ुती युवतीले हरेकपटक भेट्दा पुरुषबाट नगद लिएको देखिन्छ,ु चितवनका प्रहरी प्रवक्ता अधिकारीले भन्नुभयो । युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने र पुरुष प्रभावित भएर मागेको पैसा दिँदै गएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

प्रहरीका अनुसार युवतीले वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल भएकी थिइन् । युवतीले पहिलो किस्ता ८ लाख लिएपछि पुनः अर्को नाम राखेर उनै पुरूषसँग थप पैसा मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवतीले अन्य पुरुषलाई पनि ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।