काठमाडौं, असार २६ । श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् ।
देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिनुभएको छ । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन ।
गोटाबायाको गलत नीतिका कारण श्रीलंका आर्थिक संकटमा फसेको र आफूहरुले इन्धन, खाना तथा औषधि नपाएको नागरिकको बुझाइ छ । यस्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिने बताइसकेका छन् । शनिबार उनको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गर्ने भने पनि प्रदर्शनकारीले उनीहरुको नियतमाथि शंका गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता लाहिरु वीरशेखरले एएफपीसँग भने, ‘हाम्रो संघर्ष सकिएको छैन, हामी यो संघर्षलाई तबसम्म रोक्ने छैनौं, जबसम्म उनीहरुले साँच्चिकै (सत्ता) छाड्ने छैनन् ।’
राजनीतिक विश्लेषक तथा मानवअधिकारकर्मी भवानी फोन्सेकाले रोयटर्ससँग भनिन्, ‘आगामी केही दिनको समय अनिश्चित हुनेवाला छ, राजनीतिक रुपमा अब के हुन्छ, उनीहरले साँच्चिकै सत्ता छाड्छन् कि छाड्दैनन हेर्न रोचक हुने छ ।’












प्रतिक्रिया दिनुहोस्