जनता टाइम्स

२७ असार २०७९, सोमबार १६:५०

महावीर पुनलाई गण्डकी रत्न सम्मानः प्रदेश सांसदको हैसियत


पोखरा, असार २७ । वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उहाँलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार गरिएको हो ।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निस्शुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष प्रयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।

प्रदेश प्रमुख गुरुङले महावीरले गरेको आविष्कारको उच्च प्रशंसार गर्नुभयो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खोज र अनुसन्धानका लागि प्रदेश सरकारको प्राथमिकता बढेको र आविष्कार केन्द्रसँग पनि सरकारले सहकार्य गर्ने बताउनु भयो । गण्डकी सरकारले आगामी वर्षका लागि आविष्कारका क्षेत्रमा १० करोड विनियोजन गरेको छ ।