जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०८:२९

नेकपा सचिवालय बैठक बस्दै, विभागको प्रमुखमा जुट्यो यस्तो सहमति


काठमाडौं, साउन ५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई पूर्णता दिन सचिवालय बैठकमा छलफल हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे बोलाइएको सचिवालय बैठकमा विभाग गठनलाई अन्तिम रुप दिइदैछ ।

३२ वटा विभाग मध्ये तत्कालिन एमालेका पक्षमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । अधिकाशं विभागको नेतृत्वमा सहमति जुटेपनि स्कुल विभागमा पूर्व माओवादीले दावी यथावत राखेको छ । महत्वपूर्ण विभाग मध्ये विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग पूर्व एमालेको भागमा परेको थियो । आफ्नो भागमा परेको विभागमा पूर्व एमालेका नेताहरु बसेर सहमति जुटाईसक्नु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाउनु भएको हो ।

बरिष्ठ नेता नेपालले बिदेश बिभाग, खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लगाई सकेको छ ।
तर, नेकपाका प्रवक्ता समेत रहनु भएका नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दावी गरेपछि पूर्ण सहमति जुट्न नसकेको बताइएको छ । यस विषयमा पनि आज छलफल हुने बताइएको छ ।

अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति यसअघि नै भइसकेको छ । यस्तै पूर्वमाओवादीको भागमा प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुख परेको छ । श्रेष्ठलाई प्रचार तथा प्रकाशन बिभाग दिने तयारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहनु भएको छ । तर, श्रेष्ठले लिन नमानेको स्रोतले बताएको छ ।

यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ। तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ।