जनता टाइम्स

२८ असार २०७९, मंगलवार १०:३५

पत्थरी झिक्न नयाँ प्रविधि : पित्त नलीमा रहेको ढुंगा मुखबाटै निकालिदिने


सुनसरी, २८ असार । झापाको बुद्धशान्ति गाउँपालिका–४ का दृष्टिविहीन ५८ वर्षीय नरेन्द्र लिम्बूले पित्त नलीमा रहेको ढुंगा मुखबाटै निकालिदिनेमा विश्वास गरेका थिएनन् । कलेजो र पित्त थैलीसँग जोडिएको पित्त नलीमा रहेको २२ एमएमको पत्थरी (ढुंगा) आफ्नै मुखबाट निकालिदिएको अनुभव गर्नुभएका उहाँले पेट चिरेर पित्त नलीको पत्थरी निकालिन्छ भन्नेमात्र सुन्नुभएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक साता अघि उहाँको उपचार भएको हो । प्रतिष्ठानमा आएकै दिन पेट तथा कलेजो रोग विभागमा भर्ना भए भने सोही साँझ पित्त नलीको ढुंगा मुखबाट निकालिदिएपछि भोलिपल्ट घर फर्केको लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘त्यति उपचार गर्दा मेरो खासै खर्च भएन, अस्पताल पनि बस्नु परेन ।’पित्त नलीबाट पत्थरी निकाल्ने चिकित्सा पद्धतिलाई छोटकरीमा ईआरसीपी अर्थात् इन्डोस्कोपिक रेट्रोग्रेड कोलन्जियो प्यांक्रियाटोग्राफी भनिन्छ । यो प्रविधि प्रयोग गरेर प्रतिष्ठानमा करिब दुई वर्ष अघिदेखि पित्त नलीको ढुंगा निकालिँदै आए पनि आम मान्छेलाई पूर्ण जानकारी नहुँदा अझै पनि पेट र पित्त नली चिरेर पुरानो एवं खर्चिलो उपचार गराउन बाध्य छन् ।

प्रतिष्ठानका उक्त विभागका प्रमुख प्राडा विक्रम प्रधानका अनुसार ईआरसीपी चिकित्सा पद्धतिमा ३० देखि ४० मिनेटमा ईआरसीपी गरेर पित्त नलीमा रहेको पत्थरी निकाल्न सकिन्छ । यो उपचार पद्धतिमा बिरामी बढीमा एक दिन मात्र अस्पताल बसेर तुरुन्तै घर फर्कन सक्ने उहाँ बताउनु हुन्छ ।

उहाँले भन्नुभयो ‘मुखबाट विशेष प्रकारको क्यामेरा र प्रविधियुक्तको ईआरसीपीस्कोप पाइप छिराएर कम्प्युटर स्क्रिनमा हेर्दै कलेजोको छेउमा रहने पित्त नलीमा हुने ढुंगा, अरू कारणले हुने समस्या, बग्न नसकेको पित्त र संक्रमणले बनेको पिप निकालिने पद्धति नै ईआरसीपी हो ।’
डा. प्रधान पूर्वमा पहिलो पटक ईआरसीपी प्रविधि भित्र्याउने चिकित्सकका रूपमा चिनिनुहुन्छ । उहाँका अनुसार अहिलेसम्ममा प्रतिष्ठानबाट करिब ५ सय जनाको यो प्रविधिबाट उपचार भएको छ ।