जनता टाइम्स

२८ असार २०७९, मंगलवार २२:३७

राजेन्द्र लिङ्देनले रेखा थापा र ज्ञानेन्द्र शाहीलाई बोकेको भन्दै राप्रपामा लफडा


काठमाडौं, २८ असार । एकता महाविशेनलगत्तै विभाजित प्रजातन्त्र पार्टी (राप्रपा) मा अर्को विवाद सुरु भएको छ। काठमाडौं, २८ असार । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर असन्तुष्ट नेताहरुले छुट्टै बैठक गर्न थालेका छन्। महाधिवेशनका बेला सबै राजावादी र हिन्दुवादीहरुलाई ६ महिनामै एकै ठाउँ ल्याउने घोषणा गर्नुभएका लिङ्देन आफ्नो योजनामा असफल हुँदै गर्दा पार्टीमा अनेक विवाद पनि देखिन थालेका छन्। यही विवादबीच केही दिनअघि केन्द्रीय कार्यालयमा बसेको एउटा भ्रातृ संगठनको बैठकमा नेताहरुबीच हात हालाहाल र कुर्सी हानाहानसमेत भयो।

विवाद बढिरहँदा सोमबार राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा राप्रपाका असन्तुष्ट ८ नेताहरुको बैठक बसेको छ।बैठकमा दीलनाथ गिरी, दिलविकास राजभण्डारी, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, श्याम तिमिल्सिना, सुन्दर खण्डका, तेज भुजेल र दमन बस्नेत सहभागी थिए। उक्त बैठकमा पार्टी नेतृत्व र समसामयिक विषयमा छलफल भएको असन्तुष्टमध्ये एक नेता दमन बस्नेतले बताउनुभयो। त्यस्तै, बैठकले एक वार्ता समिति पनि गठन गरेको छ।सबै पक्षसँग खुला वार्ताका लागि ६ सदस्यीय समिति बनाइएको बस्नेतले जानकारी दिनुभयो। उक्त समितिमा दीलनाथ गिरी, दिलविकास राजभण्डारी, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, श्याम तिमिल्सिना र दमन बस्नेत रहनुभएको छ ।

‘पार्टी नेतृत्व र अहिले भइरहेको घटनाबारे विस्तृत छलफल भयो,’ बैठकबारे बस्नेतले भन्नुभो , ‘यही तरिका र रवैयाले पार्टी ठूलो हुन सक्दैन। नेतृत्वले गर्नुपर्ने राजनीतिक व्यवहार परिपक्व भएन। हामी संयम भएर लागेका छौँ।’ अध्यक्ष लिङ्देनको क्रियाकलाप लामो समय अध्ययन गर्दा पनि पार्टीमा कुनै सुधार नआएपछि वार्ता समिति नै बनाएर अघि बढिएको उहाँले बताउनुभयो । गत मंसिरको महाधिवेशनपछि अध्यक्षमा निर्वाचित भएका लिङ्देनले सबैलाई समेट्न नसकेको असन्तुष्ट पक्षको आरोप छ। ‘सबैलाई समेट्न बनाउनुपर्छ, राप्रपालाई राष्ट्रवादी शक्तिको रुपमा उभ्याउन कसैलाई पनि बाइकट गरेर, कोही पराजित भए भन्दैमा हामी विजयी भयौँ भनेर अघि बढ्नु दुर्भाग्य हो,’ नेता बस्नेतले भन्नुभयो, ‘त्यसलाई समेत समेटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो बैठकको निष्कर्ष हो।’

जब ज्ञानेन्द्र शाही एल्लो प्यागोडा पुगे……

सोमबार दिउँसो असन्तुष्ट पक्षका नेताहरु बसिरहँदा केही महिनाअघि राप्रपा प्रवेश गरेर प्रवक्ता बनेका ज्ञानेन्द्र शाही एल्लो प्यागोडा होटल पुग्नुभएको थियो ।उहाँलाई अध्यक्ष लिङ्देनले असन्तुष्ट पक्षसँग वार्ता गर्न पठाउनुभएको थियो । तर, शाही त्यहाँ पुगेपछि नेताहरुले उहाँलाई चासो नै दिनुभएन् । बैठकमा सहभागी अर्का एक नेता भन्नुहुन्छ , ‘हिजो राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहीलाई छलफलका लागि पठाउनुभएको रहेछ। सबै सिनियर नेता बसेको ठाउँमा उहाँसँग वार्ता गर्न रुचि भएन।’ शाहीलाई लिङ्देनले ‘कुरा बुझ्न’ पठाएको ती नेता बताउँछन्। असन्तुष्ट नेताहरुले शाहीलाई भनेका थिए, ‘संसदीय राजनीतिक अनुभवमा भाइ अध्यक्षभन्दा सिनियर नेताहरु हामी यहाँ छौं, यो अलिकति पाच्य भएन।’ जवाफमा शाहीले आफू वार्ता गर्न नभई ‘सुन्न’ मात्रै आएको स्पष्टिकरण दिनुभएको थियो । ‘दाइहरू म वार्ता गर्न आएको होइन, सुन्न मात्रै आएको हुँ,’ बैठकमा पुगेका शाहीको भनाई उदृत गर्दै एक नेताले भन्नुभयो । शाहीलाई बैठकमा वार्ता गर्न पठाउनु लिङ्देनको ‘अपरिपक्व’ निर्णय भएको नेताहरुको बुझाई छ।

रेखा र ज्ञानेन्द्रलाई अनावश्यक बोकेको आरोप

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपाले गरेका सभामा मञ्चमा अभिनेत्री रेखा थापा देखिनुभएको थियो । उहाँ सबैजसो मञ्चमा अध्यक्षसँग पहिलो लाइनमा बस्नुभयो। पछि आफूलाई अभियन्ताका रुपमा चिनाएका ज्ञानेन्द्र शाही, ज्वाला संग्रौला लगायतलाई पार्टी प्रवेश गराइयो। पार्टीमा योगदान गरेका सिनियर नेताहरुलाई बाइपास गरेर नयाँ सदस्यलाई अध्यक्षले बोकेको भन्दै त्यही बेलादेखि पार्टीमा असन्तुष्टि बढेको थियो। रेखाले निर्वाचनका मञ्चमा कमल थापालाई गाली गर्दै हिँडेपछि असन्तुष्टि बढ्दै गएको एक नेताले जानकारी दिनुभयो । ‘सुरुदेखि नै रेखा थापालाई लिएर हिँड्ने, मञ्चमा राख्ने,’ एक असन्तुष्ट नेताले भने, ‘कमल थापालाई गाली गर्न पशुपति शमशेर, प्रचण्ड, केपीजी, शेरबहादुरजीहरुले सुहाउँछ। राजेन्द्र लिङ्देनले रेखालाई सँगै लिएर हिँड्ने, मञ्चमा राखिदिने। अनि, भाषण गर्दा कमल थापा गाली गर्ने ?’रेखा थापा, ज्वाला संग्रौला, ज्ञानेन्द्र शाही जस्तालाई बोकेर पार्टी नबन्ने ती नेता बताउँछन्।

‘अहिलेको असन्तुष्टि भनेकै त्यही हो। रविन्द्र मिश्र आउँछु भन्दा चाहिँ खेलाँची गरिदिने ?’ ती नेताले प्रतिप्रश्न गरे। पार्टीमा महाधिवेशनपछि देखिएका विवादको निष्कर्ष सुनाउँदै ती नेता भन्छन्, ‘हाम्रो पार्टीमा अहिले नपाउनेले केरा पायो, चियामा चोपेर खायो। माथिल्लो घरको माइलाले गहिरो पिरती लायो,’ भनेजस्तो भएको छ।’