जनता टाइम्स

२९ असार २०७९, बुधबार २१:०२

गोरखामा पहिरोले दुई घर बगायो : २० जनाको उद्धार, ज्यान जोगाउन साँझको बेला २५ परिवारले छाडे घर


गोरखा, असार २९ । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा भीषण पहिरो जाँ दुई वटा घर बगाएको छ । बुधबार साँझ ५ बजेतिर स्याम्चेतमाथिको डाडाँबाट खसेको पहिरोले यहाँका दुई वटा घर बगाएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

पहिरो बस्तीबीचबाट बगेपछि स्याम्चेतका तल्लो र माथिल्लो गाउँका स्थानीयहरू घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । मानवीय क्षति नभए पनि बुधबार राति स्थानीय घरमा सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरू बताउँछन् ।

गाउँपालिका अध्यक्ष गुरुङसहितको टोली अहिले पहिरोस्थल तर्फ त्रिपाल, चाउचाउ लगायत सामग्री बोकेर जाँदै छ । स्थानीय नन्दमाया लामाका अनुसार पहिराले के कति क्षति गर्‍यो भन्ने यकिन हुन सकेको छैन । ‘केही बेरअघि पहिरो झरेको हो, उज्यालै भएकाले गाउँले सबै घर छाडेर ज्यान जोगायौं,’ उहाँले भन्नुभयो ‘मान्छेले आफ्नै ज्यान जोगाउन धौधौ परेको छ, बस्तीतर्फ जान सक्ने अवस्था छैन ।’

यस क्रममा केही पशु चौपाया पहिरोले च्यापिएर मरेको लामाको भनाइ छ । पहिरोमा फसेका २० जनाको भने उद्धार गरेको स्थानीय शिशिर लामाले बताउनु भयो । ‘बुल्जुङ डाँडाबाट झरेको पहिरो स्याम्चेत तल्लो र माथिल्लो टोलको दायाँ बायाँबाट बगेर बस्ती बीचमा परेको उहाँले बताउनु भयो । उहाँका अनुसारपहिरोको बीचमा ६ घर परेको छ ।

पहिरो बीचमा परेका २० जना स्थानीयको सुरक्षित उद्धार गरिएको छ । पहिरो बस्ती बीचमा परेपछि २५ परिवारलाई सुरक्षित स्थानमा सारिएको शिशिरले बताए । बुल्जुम डाँडाबाट डोन्डरे खोलासम्म झण्डै एक किलोमिटर दूरीमा पहिरो बगेको लामाले जानकारी दिनुभयो ।

स्याम्चेत बस्तीमाथिको बुल्जुङ डाँडाको कुलोमा तटबन्धन गरेको ग्याविन बगाएर पहिरो बगेको उहाँले जानकारी दिनुभयो। घटनास्थलतर्फ मान्वु प्रहरी चौकीबाट प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । (फाइल तस्विर)