काठमाडौं, ३० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाउनुभएको छ । जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गर्नुभएको छ । देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भए पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाएका छन्।
‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीले लिखित धारणा राख्दै भन्नुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको वैशाखी आवश्यक थियो या थिएन भन्नेबारे बहस गर्नुपर्ने बताउनुभयो ।
‘स्थानीय तहको निर्वाचनको लागि कांग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक बहसको विषय बनेको हो,’ उहाँले थप भन्नुभएको छ,‘चुनावी गठबन्धन तात्कालीक रणनीतिमात्र हो। यो नै गन्तव्य र लक्ष्य होइन।’ उहाँले संघीय र प्रदेशको निर्वाचनमा कांग्रेसलाई गठबन्धन आवश्यक छ या छैन भन्नेबारे छलफल गरेर सम्मानजनक हैसियत रक्षा गर्ने स्पष्टता मापदण्ड बनाउनुपर्ने पनि बताउनुभयो ।
नेता केसीले देश दिनानुदिन आर्थिक संकटमा फस्दै गएको अवस्थामा सरकार हातहतियार किन्न उद्दत रहेको प्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य के भन्दै प्रश्न गर्नुभयो । ‘देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ ?’ केसीले भन्नुभएको छ । उहाँले विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिका विषयमा सरकारले सर्वदलीय छलफल गर्नुपर्ने, बजेट निर्माणका क्रममा बाहिरी मान्छेहरुको हस्तक्षेप रहेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।












प्रतिक्रिया दिनुहोस्