सप्तरी, ३० असार । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।
गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आउनुभएको कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहनुभएको छैन । काम नगर्दा घर चलाउन समेत समस्या भएको उहॅाले बताउनुभयो ।
उहॅा भन्नुहुन्छ,´गर्मीले घरभित्रै त बसी सक्नु छैन् । घाँममा डुलेर कसरी कपडा बेच्नु ? जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।’ राजविराज नगरपालिका वडा- १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो। तर, गर्मीका कारण एक सातादेखि उहॅा पनि काममा जान सक्नुभएको छैन ।
उहॅाले भन्भनुभयो,´बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छौं ।’
गर्मीले सबैलाई काम गर्न समस्या भइरहेकाे नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो । उहॅाले भन्नुभयो,´गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन् । शरीरले सके न काम गर्ने हो ।’
कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधाघण्टामै तातो हुने गरेको राजविराज-२ की ५० वर्षीया लिलादेवी मण्डलले बताउनुभयो ।
उहॅाले भन्नुभयो,´पहिले पहिले गर्मी लाग्दा कोठाको भुईमा सिमेन्टमा सुत्थेँ । अहिले त भुई पनि तातेको छ । कसरी सुत्ने ? मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ।
गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ।













प्रतिक्रिया दिनुहोस्