जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १६:१०

नेकपाले तोक्यो ७७ ओटा जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । तर पसिएसम्म सारिएको छ । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्य्बिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो ।

गत जेठ ३ गते नै जनसंगठनको संयोजक–सहसंयोजकसहित केन्द्रीय समितिको आकार र नाम तय भएपनि अहिलेम्सम्म अन्तर पार्टी निर्देशन नआउँदा बामदेव गौतम संयोजक रहेको किसान महासंघबाहेक अन्य संगठनको काम अघि बढेको छैन । लामो समयसम्म एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ता नै निराश बनेपछि अन्तिम टुंगो लगाउने गरी अध्यक्षद्ववय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सहमति गरी आजको बैठक बोलाउनु भएको हो । आजको बैठकमा यही एजेण्डा राखिएको थियो ।

बैठकअघिसचिवालयमा रहेका पूर्वएमाले र पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच कार्य्बिभाजनमा सहमति भएसँगै दुवै पूर्वपार्टीका नेताहरु आफ्नो भागमा परेको बिभागको नेतृत्वदेखि केन्द्रीय सदस्यको कार्य्बिभाजनसम्म टुंगो लगाउने गृहकार्यमा जुटेका हुन । बैठकअघि पूर्वएमाले नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सहमति जुटाएको छ भने पूर्वमाओवादी नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको छ । नेकपाको सचिवालयमा पूर्वएमालेका ६ र पूर्वमाओवादीका तीन नेता हुनुहुन्छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ६ जना नेताको बैठक गरी कार्यबिभाजनलाई सर्वसम्मत बनाउने सहमति जुटाउनु भएको छ । जसअनुसार बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभाग, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठान बिभाग, सचिवालय सदस्य बामदेव गौतमलाई संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य इश्वर पोखरेललाई पार्टी स्कूल बिभागको नेतृत्व लिने समति जुटेको छ । तर स्कूल बिभागमा प्रवक्तासमेत रहनुभएका पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठले समेत दावी गरेपछि आजको सचिवालयमा छलफल भएपनि निर्णय भएन ।

पूर्वएमाले नेताहरुको बैठकले पोखरेललाई सो बिभाग प्रमुख बनाउने सहमतिसहित बैठकमा एकजुट भएर प्रस्तुत हुने सहमति बनेको छ । ‘अध्यक्ष ओलीले गराउनु भएको सहमतिमा सवै एक हुनुहुन्छ, पोखरेललाई स्कूल बिभागको नेतृत्व लिने कुरामा सवैको एकमत छ,’ बैठकपछि एक नेताले भने । पूर्वएमाले नेताहरुले आफूहरुबीच मतभेद देखिँदा पूर्वमाओवादी हावी भएको बिषयमा समेत गम्भीर छलफल गरेको ती नेताले जानकारी दिए ।

उता अर्का अध्यक्ष प्रचण्डले पनि आजै सचिवालयमा रहनुभएका नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहित पूर्वपार्टीका पदाधिकारीको बैठक गर्नुभएको छ । सो बैठकमा प्रचण्डले अध्यक्ष ओलीसँग भएको सहमति राख्दै आजको बैठकबाट कसरी सहमति जुटाउने भन्ने सुझाव माग्नुभएको थियो । बैठकमा पूर्वमाओवादी नेताहरुले पार्टी एकता भएपछि पूर्वएमाले हावी भएको गुनासो गरेको एक नेताले जनताटाइम्स डटकमलाई बताए ।

नेकपा सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले एकताको बाँकी काम टुंग्याउने घोषणा यसअघि नै भइसकेको छ । नेकपामा अहिलेसम्म जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदको निर्णय हुन बाँकी छ । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा लिने सहमति भइसकेको छ । बरिष्ठ नेता झलनाथ खनालले निती प्रतिष्ठानको नेतृत्व पाउनु भएको हो । पर्सिको बैठकबाट एकता टुंगो लाग्नेछ ।