जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १९:१८

प्रधानमन्त्री भएर भारत गएकोभन्दा फरक लागेन : प्रचण्ड


काठमाडौं, साउन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको र प्रधानमन्त्री भएर गएको भन्दा फरक नलागेको बताउनु भएको छ । भारत भ्रमणबाट फर्कैपछि बिमानस्थलमा पत्रकार सम्मेलन गरी प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको दावी गर्नुभयो । उहाँले भारतमा आफू प्रधानमन्त्री भएजस्तै स्वागत–सत्कार पाएको बताउनु भयो । ‘यो भ्रमणलाई भारतमा निकै ठूलो उत्साह र महत्वका साथ हेरिएको रहेछ । यहाँ के चर्चा भयो थाहा छैन तर मैलेचाहिँ सोचेको भन्दा राम्रो भयो भन्ने लागेको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो ।

उहाँका अनुसार भारत भ्रमणको क्रममा आफूलाई राम्रो सम्मान दिएको छ । ‘विमानस्थलमा स्वागतदेखि होटलसम्म पुग्दा जुन स्वागत सत्कार र सुरक्षाको प्रवन्ध गरियो त्यो चाहिँ म प्रधानमन्त्री भएर गएको बेलाको भन्दा फरक लागेन,’ प्रचण्डले भन्नुभयो । भारत भ्रमणको क्रममा उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिए पनि भ्रमणले उत्साहित बनेको बताउनु भयो ।