जनता टाइम्स

६ श्रावण २०७६, सोमबार ०९:०२

जापान जाने कामदारको परिक्षा अक्टोबर अन्तिम साता, पहिलो चरणमा यी क्षेत्रका कामदार जान पाउने


काठमाडौं, साउन ६

जापानले लैजाने भनिएका कामदारको भाषा परिक्षा कात्तिकमा हुने भएको छ । कोरियन भाषा परिक्षाजस्तै जापान जाने नेपाली कामदारका लागि अक्टोबरको अन्तिम साताबाट आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ।

विभिन्न १४ वटा क्षेत्रमा कामदार लैजाने बताएको जापानले पहिलो चरणमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिने भएको छ । केयरगिभर लैजाने भनेपनि कति सख्यामा लैजाने एकिन नभएको मन्त्रालयका सचिव महेशप्रसाद दहालले जानकारी दिनुभयो । उहाले जापान सरकारकै अनुरोध अनुसार भाषा परीक्षाको तयारी भइरहेको बताउनु भयो ।

‘हामीले पहिला भाषा परीक्षा लिनका लागि अक्टोबर महिनाको २७\२८ तारिख तोकेका छौँ’, सचिव दहालले भन्नुभयो, ‘त्यसपछि सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६\७ तारिखमा हुन्छ ।’ गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो।

‘परीक्षाकै बीचमा हामी कामदारको स्वास्थ्य जाँच लगायत कसरी गर्ने भन्ने जापानी पक्षसँग छलफलमै छौँ’, दहालले भन्नुभयो, ‘अहिलेसम्मको कुरा अनुसार कामदारले परीक्षा शुल्क र जापान जानका लागि टिकटको पैसा तिर्नुपर्ने भन्ने छ तर सबै निर्णय भइसकेको छैन ।’ श्रम गर्ने भनिएका भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियामध्ये जापानले नेपालसँग सबैभन्दा पहिला सम्झौता गरेको थियो।