जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १०:४५

कार्यबिभाजनमा उदार बने प्रधानमन्त्री ओली, कोर टीमका हस्तीहरुकै बिचल्ली


काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यबिभाजनमा अध्यक्ष केपी शर्मा ओली निकट रहेका हस्तीहरु सिकार बनेका छन । केही अपवादबाहेक प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीका निकट सहयोगी र दृढ समर्थकहरुले आफ्नो भुगोल नै गुमाउनु परेको हो ।

नेकपाको आइतवार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरको इञ्चार्ज र सहइञ्चार्ज तोक्दा सवैभन्दा बढी अन्यायमा ओलीका अति निकट रहेका नेताहरु नै परेका हुन । बिनामापदण्ड ओली निकट नेतालाई भुगोलबाट लखेटन चालिएको खेललाई ओली टीमले नबुझ्दा र उहाँ आफै सवै मेरै हुन भन्ने मान्यतामा पुगेको कारण झण्डै एक दर्जन ओलीका हस्तीहरु जिम्मेवारीबिहीन हुनुपरेको छ ।

पार्टीभित्र शक्तिमा आउँदा मात्र नभई जिल्ला जानसमेत रोक लगाएको अवस्थामा समेत ओलीका साथ दिने नेताहरु भुमिकाबिहीन बनेका छन । कार्यबिभाजनमा मोरङबाट बिनोद ढकाल, रुपन्देहीबाट खीमलाल भट्टराई, भक्तपुरबाट महेश बस्नेत, धादिङका खेम लोहनीलाई इञ्चार्ज नपारिएको मात्रै होइन, यसअघि दोलखाका इञ्चार्ज नै रहेका ओलीका हस्ती पार्वत गुरुङलाई जिम्मेवारीबिहीन बनाइएको छ । जस्को कारण जस्ता ओलीका हस्तीसमेत भुगोलबाट बञ्चित हुनुपरेको छ । यस्तै यसअघि इलाम इञ्चार्ज रहेका हिक्मत कार्कीलाई पनि भुगोलबिहीन बनाइएको छ ।

धादिङमा जिल्ला कमिटी सचिवसमेत रहनुभएका सालिकराम जमरकट्टेललाई इञ्चार्ज बनाएर लोहनीलाई सहइञ्चार्ज राखिएको छ । लोहनी जमरकट्टेल भन्दा निकै सिनियरनेता हुनुहुन्छ । ओलीलाई साथ दिँदा अपमानित भएर आफू भन्दा निकै जुनियरलाई इञ्चार्ज मानेर बस्नुपर्ने बाध्यतासमेत आइपरेको छ ।

ओली टीमका हस्तीमध्ये बिकल्पहीन रहेको कारण काभ्रे इञ्चार्जमा गोकुल बाँस्कोटा पर्नुभएको छ । सो जिल्लामा तात्कालिन एमालेका इञ्चार्ज इश्वरी रिजालले अर्को जिल्लामा नरहने भन्दै इञ्चार्ज अस्वीकार गरेको र बाँस्कोटा बाहेक अन्य केन्द्रीय सदस्य नै नरहेको कारण बाँस्कोटालाई रोक्न्ने खेल सफल हुन नसकेको हो ।

त्यसो त गृहजिल्ला झापामै समेतप्रधानमन्त्री ओली निकै उदार बन्नुभएको छ । झापामा ओली निकट भएकै कारण देवेन्द्र दाहालले आफू भन्दा जुनियरलाई नेता मान्नुपरेको छ । जुनियलाई नेता मान्नु पर्ने झापा एक्लो जिल्ला भने होइन,थुप्रै जिल्लामा यस्तो अवस्था देखिएको छ । कार्यबिभाजनमा बरिष्ठ नेता माधव नेपाल भने सफल हुनुभएको छ । एकतापछि निकै कमजोर देखिनुभएको नेपालले कार्यबिभाजनमा आपू निकट जति सवैलाई इञ्चार्ज वा सहइञ्चार्जको जिम्मेवारी दिन सफल हुनुभएको छ । नेपालले आफ्नो कोर टीमका सवैलाई राख्न सफल भएपनि ओलीका कोर टीम भने बिचल्लीमा परेको हो ।

इञ्चार्ज र सहइञ्चार्जमा ओली निकै उदार बनेसँगै थप घेरावन्दी अघि बढेको छ । पछिल्लो समय नेकपाभित्र वैचारिक नेतृत्व गर्ने पार्टी स्कूल विभागको जिम्मेवारी कसले लिने भन्ने विवादसमेत झनै उग्र भएको छ । पहिला नैसहमति भइसकेको सो बिभागमा आइतवारको बैठकमा बिवाद झिकिएको छ । ओलीका हस्ती इश्वर पोखरेललाई सो बिभाग प्रमुख बनाउने सहमति भएसँगै पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले निहुँ खोज्नुभएको छ ।

लिने पोखरेल र दिने माओवादीका नेताहरु जसरी अपमान गर्ने काम पनि भएको छ । यो बिषयमा पनि ओली उदार बन्ने संभावना रहेको छ । ‘नारायणकाजीको नाममा बिवाद झिक्ने, पोखरेललाई हुन्न भन्ने अनि दुई अध्यक्षले नै राख्ने योजना छ, सायद यही सफल हुन्छ,’ जनताटाइम्ससँग ओलीको कोर टीममाथि प्रहार गर्न बनेको टीमका एक सदस्यले भने ।