जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १७:२१

सत्तारुढ सांसदलाई महेश बस्नेतले फर्काए जस्ताको तस्तै जवाफ


काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता तथा सांस्द महेश बस्नेतले एम अधिकारीलाई नभई देश लुटने एस देउवा–ए राणा–पी दाहाल र जे शर्मालाई कार्वाही गर्नुपर्ने बताउनु भएको छ ।

एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको बिषयमा संसदमा दिनदिनै भइरहेको बहशमा भाग लिँदै बस्नेतले आज यस्तो बताउनु भएको हो । एमालेका सांसदहरूले एम. अधिकारीको विषय उठाउन आवश्यक नभएको भनिरहेका बेला सत्तारुढ दलका कोही न कोही सांसदले दिनदिनै प्रश्न उठाएपछि महेशले जवाफ फर्काउनु भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका सांसद बस्नेतले नै एम. अधिकारी खोज्नुभन्दा अरु नेताहरूलाई खोज्न सुझाव दिनुभएको छ । उहाँले सत्तारुढ दलका सांसदहरूलाई एम. अधिकारी नखोज्न भन्दै विभिन्न विषय उठाउनु भयो । ‘केही साथीहरू एमाले अर्थ विभागका एम अधिकारी खोजिरहेका छन । देशी, विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लादने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा र बजेटमै लुटने जे शर्मा खोजेर कारबाही गर्नुपर्ने होइन र ?,’ बस्नेतले भन्नुभयो ।

अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने पनि बस्नेतले बताउनु भयो । ’बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ?,’ बस्नेतले भन्नुभयो, ’पेट्रोलियम पदार्थको भाउ महंगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई कारबाही गर्नुपर्ने होइन र ?’

त्यस्तै मल र पुस्तक अभाव गराउनेहरूलाई पनि खोज्नुपर्ने बस्नेतको भनाइ थियो । ’मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने एम. यादव र डी. पौडेलहरूलाई कारबाही गर्नुपर्ने होइन र ?,’ बस्नेतले भन्नुभयो, ’प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी. कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ? एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस. देउवा र एम. खड्कालगायतलाई कारबाही गर्नुपर्ने होइन र ?’