काठमाडौं, ५ साउन । सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए।
उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो।
कार्यकक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै आफूमाथि उपमेयरले बलात्कारको प्रयास गरेको पीडित महिलाले प्रहरी समक्ष वयान दिएकी छिन्। पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दिएपछि बिहीबार जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताउनुभयो ।
केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। सोही पदमा महिलाले पनि दरखास्त भरेकी थिइन्। जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कक्षमा बोलाएर बलात्कार प्रयास गरेको महिलाले सुनाइन्। घटनाबारे राष्ट्रिय महिला आयोग र मानवअधिकार आयोगले समेत निगरानी राखेको छ। घटना सार्वजानिक भएदेखि उपमेयर सम्पर्कविहीन भएको छ।













प्रतिक्रिया दिनुहोस्