जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १७:२६

शेरधन राईको घोषणा : सेटिङ मिलाएर पैसा कमाउन मुख्यमन्त्री बनेको होइन


विराटनगर, साउन ६

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई काम नगर्ने कर्मचारीमाथी असन्तुष्ट बन्दै एक्सनमा उत्रिने संकेत गर्नुभएको छ । उहाले विभिन्न विषयमा विवादमा मुछिने क्रम बढेको भन्दै कर्मचारीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

घुस प्रकरणमा कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो । प्रदेशको वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिञ्चाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका प्रमुखलाई बोलाएर विशेष निर्देशन पनि दिनुभएको छ । उहाले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि काम गर्न सबैलाई निर्देशन दिनुभयो ।

‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु’, मुख्यमन्त्री राईले अगाडि भन्नुभयो, ‘यदि कर्मचारी पक्राउले निरन्तरता पाएमा यो प्रदेशको अवस्था कस्तो होला ? त्यसैले समयमै सचेत गराउन यो (बैठक) डाकेको छु ।’

घुस, भ्रष्टाचार र कमिसनका नाममा लज्जास्पद तथा घृणित काम गरेर प्रदेशकै बद्नाम र कलंकित गरिएको भन्दै मुख्यमन्त्री राईले कर्मचारीप्रति आपत्ति जनाउनु भयो । मुख्यमन्त्री राईले कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै भन्नुभयो, ‘कर्मचारीले पनि मुलुक र जनताका लागि नै कसम खाएर आएकाले कमिसन, घुस, स्वार्थ र भ्रष्टाचारमा कोही पनि नलाग्नु होला ।’ उहाले प्रदेश सरकार विना सूचना चुप लागेर नबसेको भन्दै विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको बताउनु भयो ।