जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०७:०८

नारायणकाजीले त्यो..पूर्वएमालेलाई दिन सकिन्न भनेपछि


काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ । पार्टी स्कूल बिभागको बिषयलाई लिएर प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठले बबन्डर मच्चाएपछि सहमति जुटन नसकी आज बोलाइएको बैठक सरेको हो ।

नेकपाले पार्टीको केन्द्रीय विभाग, आयोगलगायत बाँकी जिम्मेवारी तय गर्न आज सचिवालय बैठक बोलाएको थियो । सोमबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल, प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको जिम्मेवारीका विषयमा समझदारी बन्न नसकेपछि सचिवालय बैठक दुई दिनपछि सारिएको छ । दुई अध्यक्षबीच स्कूल बिभाग पूर्वएमालेको भागमा राख्ने सहमति भएपनि पूर्वमाओवादी समुहको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्का सचिवालय सदस्य इश्वर पोखरेलको नामै किटेर त्यो पूर्वएमालेलाई दिन सकिन्न भन्दै प्रचण्डलाई धम्क्याएपछि सहमति जुटन सकेको छैन ।

स्रोतका अनुसार श्रेष्ठले पोखरेललाई साइजमा राख्दा नै अर्का अध्यक्ष ओली ठेगान लाग्ने भन्दै पूर्वमाओवादी नेताहरुसँग लबिङ अघि बढाउनु भएको छ । श्रेष्ठको धम्कीकै कारण अध्यक्ष प्रचण्डले नारायणकाजी कमरेड इश्वर कमरेडलाई मान्दै मान्दैनन भन्दै पूर्वसहमतिमा अडिन सक्नुभएको छैन । जुन पार्टीमा रह्यो, त्यही पार्टीको नेतृत्वबिरुद्ध प्रचार गराउन माहिर नेकपा प्रवक्ता श्रेष्ठले पछिल्लो समय ओली र प्रचण्डलाई फुटाउन स्कूल बिभागको पासो फ्याँक्नुभएको छ । प्रवक्ताको भूमिकामा रहेपनि श्रेष्ठले अहिलेसम्म एक पटक पार्टी निकट केही पत्रकार भेटनुबाहेक ओली र प्रचण्डबिरुद्ध समाचार लेखाउने काममै सक्रिय हुनुहुन्छ ।

आफूलाई भेटन आउने अधिकांश नेता कार्यकर्तालाई अध्यक्ष ओली र प्रचण्डबिरुद्ध भडकाउँदै पठाउने गर्नुभएको श्रेष्ठले अहिलेसम्म पार्टी नेतृत्व र सरकारको राम्रो कामको वकालत गर्नुभएको छैन । प्रवक्ता रहेपनि उहाँको काम अध्यक्ष र सरकारबिरुद्ध षडयन्त्र गर्नमै बितेको छ । अव पनि त्यही षडयन्त्रमा लाग्नुभएको छ ।

पार्टी अध्यक्ष र सरकारको आलोचना मात्रै गर्दै आउनुभएका श्रेष्ठले एकता सकिएपछि आफ्नो हैसियत कमजोर हुने ठान्दै सकेसम्म लम्ब्याउन यस्तो नाटक गरिरहनुभएको छ । श्रेष्ठकै कारण तात्कालिन नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई एकता घोषणासभामा सहभागी भएपनि बाहिरिनु भएको थियो । भट्टराईको निर्वाचन क्षेत्र आफूलाई चाहिने भन्दै अध्यक्ष प्रचण्डलाई धम्क्याएर श्रेष्ठले बाबुरामलाई लखेटनु भएको थियो ।

अव उहाँ त्यो पूर्वएमाले भन्दैधम्की दिएर एकता भाँडन लागिपर्नुभएको छ । श्रेष्ठको धम्कीसामु अध्यक्ष प्रचण्डसमेत नतमस्तक बन्नुभएको छ । त्यही कारण दुई दिन सम्झाउनका लागि समय सारिएको हो । अव सचिवालय बैठक साउन ९ गते बस्नेछ ।