काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताउनुभएको छ । आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गर्नुभएको छ ।
‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ,’ उहाँले भन्नुभयो । आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको थपलियाले बताउनुभयो ।
उहाँले निर्वाचनको तयारीका सबै काम सुरु भइसकेको समेत बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताउनुभएको छ । प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेकोसमेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्