जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १०:२८

पार्टी एकता भाँडन प्रधानमन्त्रीदेखि थरिथरीका अफर र धम्की आएको प्रचण्डको खुलासा


काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफूभित्रका कमी कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने अठोट गर्नुभएको छ । अध्यक्ष प्रचण्डले कमी कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको समेत बताउनुभयो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कमी कमजोरी सच्याएर अघि बढने बताउनुभएको हो । उहाँले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गर्दै यसको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने बताउनुभयो । केही प्रतिक्रियावादी शक्तिले चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ कामबाट दिइएको र आगामी दिनमा पनि जवाफ दिइने बताउनुभयो ।

अहिलेको अवस्था नाटकीय हिसाबले नआएको जनाउँदै कहिले कसैलाई प्रधानमन्त्रीको अफर, कहिले कसैलाई प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने समेत बताउनुभयो । उहाले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको तर साउनभित्रै सबै काम सक्ने बताउनुभयो ।

उहाले पार्टीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसपछि देशव्यापी रुपमा खटिएर जनतालाई उत्साहित पार्ने समेत बताउदै आफू र पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा देखिने मात्रै होइन नदेखिने संवाद भएको उल्लेख गर्दै त्यसपछि नै शान्तिपूर्ण रुपमा प्रतिस्थापन गरिएको समेत जानकारी दिनुभयो ।