जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १२:२९

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउदै, यी दुई मध्ये एक हुने निश्चित


काठमाडौं, साउन ७

ब्रिटेनको सत्तारूढ कन्जर्भेटिभ दलले बोरिस जनसन वा जेरेमी हन्टमध्ये एक जनालाई भावी प्रधानमन्त्रीका रूपमा आज घोषणा गर्दैछ। दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय मङ्गलवार लण्डनमा सार्वजनिक हुँदैछ। विजेता बुधवार औपचारिक रूपमा ब्रिटेनको प्रधानमन्त्री बन्नेछन्। दलमा वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर जनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पनि उनी नै जितमा दाबेदार देखिएका छन्।

ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलमा सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टरिजा मेले मङ्गलवार बिहान आफ्नो मन्त्रिपरिषद्को अन्तिम बैठक बस्नेछिन्। उनले संसद्‍मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानीसमक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन्।

उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन्। दलका सदस्यहरूले गएको साढे दुई सातामा पत्रमार्फत् मतदान गरेका हुन्। यो कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरूले प्रधानमन्त्री छान्न पाएको पहिलो अवसर हो। गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा ब्रिटेनले युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेको जनसन नेतृत्वका लागि अगाडि रहेका थिए।

पूर्वमन्त्री डोमिनिक राबले स्काई न्यूज टिभीलाई पहिलो चरणको मतदानमा ५० प्रतिशत सांसदको मन जितेका जोनसन दललाई एकताबद्ध गर्न सही स्थानमा रहेको बताएका थिए। अर्का मन्त्री जेम्स ब्रोकेनसायरले च्यानल फोरलाई जोनसन युरोपसँग सबैभन्दा राम्रो प्रस्ताव प्राप्त गर्न र त्यो प्रस्तावलाई संसद्‍बाट पारित गर्न उपयुक्त व्यक्ति भएको बताएका थिए।

ब्रिटेनको सांसदले मेको प्रस्तावलाई तीनपटक अस्वीकार गरेको थियो। विदेशमन्त्री हन्टले आफू युरोपबाट बाहिरिने राम्रो प्रस्ताव प्राप्त गर्न सहि स्थानमा रहेको र युरोपले दिएको समयसीमा थप गर्न सक्ने बताएका थिए। जनसनले भने अक्टोबर ३१ भित्रै ब्रिटेनलाई युरोपेली सङ्घबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन्। चान्सलर फिलिप ह्यामोण्ड, न्यायमन्त्री डेभिड गौक र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टले जोनसन विजयी भएमा राजीनामा गर्ने बताएका थिए।