जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १५:१२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छानविन समितिको नियतमै शंका, कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट


समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो, तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ’

काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीलाई लिएरु तीब असन्तुष्टि जनाउनु भएको छ । प्रतिवेदन बुझाउनु अघि नै मिडियामा सार्वजनिक गरेर समितिले राजनीति गरेको निश्कर्षसहित प्रधानमन्त्रीले समितिमाथि असन्तुष्टि जनाउनु भएको हो ।

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समितिको कार्यशैली उपयुक्त नभएको प्रष्ट पार्नुभयो । प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले गत जेठ ३० गते समिति गठन गरेको थियो । समितिको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए । प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताउनु भयो ।

‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो, तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको पनि बताउनु भयो । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।