जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १६:४४

सरकारी राहतपछि बढेको इन्टरनेटको मुल्य घटाइने


काठमाडौं, साउन ७

इन्टरनेटमा बढेको मुल्यवृद्धि फिर्ता हुने भएको छ । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेपछि मुल्य घट्न लागेको हो ।

इन्टरनेट सेवाप्रदायकहरुले तिर्ने शुल्क छुट दिने सरकारले जेठमा निर्णय गरेपनि दूरसञ्चार नियमावली संशोधन नहुँदा व्यवसायीहरुले मूल्य बढाउने घोषणा गरेका थिए । साउन १ गतदेखि १३ प्रतिशत कर थपेर मुल्य समायोजन गर्ने निर्णय व्यवसायीहरुले गरिसकेका थिए ।इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने व्यवस्था नियमावलीमा गरेपछि व्यवसायीहरु त्यसबाट पछि हट्ने संकेत गरेका छन । यद्यपी व्यवसायीहरुले आधिकारीक निर्णय भने गरिसकेका छैनन् ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनका अध्यक्ष भोजराज भट्टले भन्नुभयो, ‘मैले पनि अनौपचारिक जानकारी पाएको छु, आधिकारीक जानकारी आएपछि यसमा हामी निर्णय गर्छौ ।’ उहाले सरकारले त्यस्तो निर्णय गरेको भए आफु मुल्य समायोजन गर्न तयार रहेको भनाई राख्नु भयो । इन्टरनेट सेवाप्रदायकहरुले उपभोक्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँचसय रुपैयाँ बढी लिन्छन्। त्यस्तै शुरुमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखी दूरसञ्चार सेवा शुल्क लाग्ने छ । नेपालमा १२ प्रतिशतमामत्र तारबाट दिइने इन्टरनेट प्रयोकर्ता रहेका छन्।