जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार ०५:५४

यो सिधै चाइनामाथि धावा बोल्न काम हो : उपाध्यक्ष शाक्य


लमजुङ, साउन१ १५ । नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताउनु भएको छ ।

नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले अब कम्युनिस्ट पार्टीको नाममा ससना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताउनु भयो ।

‘यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महँगी घट्दैन, न त संवृद्धि नै आउँछु,’ शाक्यले भन्नुभयो, ‘हेर्नुहोस् त एमसीसी पास गरेर अमेरिकी सेना भित्र्याउँदैछन । यो सिधै चाइनामाथि धावा बोल्न काम हो ।’

मुलुकमा संघीयता सही ढङ्गले सञ्चालन गर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर अहिले व्यवस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भैरहेको छ, यो कार्य गलत छ ।’

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धनविरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताउनु भयो।उपमहासचिव गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताउनु भयो ।