जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १६:५७

पार्टीमा न्याय छ भने स्कूल विभागको जिम्मेवारी मलाई दिनुपर्छ : घणश्याम भुसाल


काठमाडौं, साउन ७ । सचिवालयमा रहेका दुई नेताबीच सहमति जुटन नसकिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी स्कुल विभाग प्रमुखमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । सचिवालय सदस्य इश्वर पोखरेललाई रोक्न अर्का सदस्य नारायणकाजी श्रेष्ठ दुवैले दावी गरिरहेको बेला स्थायी कमिटी सदस्य भुसालले पनि शीर्ष नेताहरुलाई भेटेर स्कुल विभागमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो ।

विभागहरुको बाँफडाँड सचिवालय बैठकमा नै टुंगो लगाउने भएपछि नेता भुसालले शीर्ष नेतालाई भेटेरै दाबेदारी राख्नुभएको हो । भुसालले पार्टीमा न्याय छ भन्ने स्थापित गर्न पनि आफूलाई स्कूल बिभाग प्रमुखको जिम्मेवारी दिनुपर्ने बताउनु भएको छ । ‘यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा न्याय छ भने स्कुल विभागको जिम्मेवारी मलाई दिनोस, म यसको स्वाभाविक दाबेदार हुँ,’ शीर्ष नेतासँग भुसालको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

नेता भुसालले स्कूल बिभागमा आफ्नो दावेदारी स्वभाविक रहेको बताउनु भयो । उहाँले नेताहरुलाई भेटेर पार्टीमा न्याय भए आफूलाई स्कुल विभागको जिम्मेवारी दिन प्रस्ताव राखेको बताउनु भयो । आफू भएको पार्टीको कमिटीसम्म यो छलफल नआउने भएप्छि नेताहरुमार्फत दाबेदारी प्रस्तुत गरेको भुसालको भनाई छ । ‘स्थायी कमिटीमा छलफल हुने भए म त्यहीं आफ्नो दाबेदारी प्रस्तुत गर्ने थिएँ । अब औपचारिक दाबेदारी नै गर्न नपाएपछि नेताहरुलाई आफ्नो कुरा सुनाएको हुँ,’ भुसालले भन्नुभयो ।

नेकपाको सचिवालय बैठक स्कुल विभागको बिषयमा सहमति जुट्न नसकेपछि पर्सिसम्मका लागि स्थगित भएको छ । आजका लागि बोलाइएको सचिवालय बैठक स्कुल विभागमा सहमति जुट्न नसकेपछि स्थगित भएको हो ।