जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १७:१४

बेलायतको प्रधानमन्त्रीमा जनसन निर्वाचित, बुधबार औपचारिक पदभार ग्रहण गर्दै


काठमाडौं, साउन ७

बेलायतको प्रधानमन्त्रीका रुपमा कन्जर्भेटिभ दलबाट बोरिस जनसन चुनिएका छन् । कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा जनसनलाई चुनेको हो ।

दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा केहीबेर अघि सार्वजनिक भएको हो। सार्वजनिक मतपरिणाम अनुसार जनसनले आफ्ना प्रतिद्धन्दीलाई दोब्बर मतले पराजित गरेका छन् । जनसनले ९२ हजार १ सय ५६ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी बहालवाला विदेशमन्त्री जेरेमी हन्टले भने केवल ४६ हजार ६५६ मत ल्याएका छन् ।

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले सम्बोधन गरेका छन् । जोन्सन प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि टेरिजा मेले बधाई दिएकी छन् । उनले ब्रेक्जिट सम्झौताका विषयमा मिलेर काम गर्न र आफ्नो पूर्ण समर्थन रहेन बताएकी छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि जोन्सनले आफूसँग पराजित हन्ट र बाहिरिँदै गरेकी प्रधानमन्त्री मेलाई सम्मान व्यक्त गरेका छन् । उनले हन्टलाई ‘फन्ट अफ एक्सलेन्ट आइडिया’ (उत्कृष्ट विचारक) भएको बताएका छन् । त्यसैगरी मेलाई यति लामो समयसम्म राष्ट्रको सेवा गरेको भन्दै सम्मान व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा जोन्सन निर्वाचित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरिरहेका छन् ।