खोटाङ, साउन १५ । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता पुगेको छ ।
भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको कोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले बताउनु भयो ।
‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उहाँले भन्नुभयो ।
आज विहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो ।
‘भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मानविय क्षति केही भएको छैन,’ खोटाङ्का प्रमुख जिल्ला अधिकारी सेडाईले भन्नुभयो, ‘केही पुराना घरहरु चर्केको, पालि भत्केको खबर प्राप्त भएको छ ।’
अहिले जिल्लाभरीबाट विवरण संकलन गर्ने काम भइरहेको उहाँले बताउनु भयो ।खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उहाँका अनुसार यो गोरखा भूकम्पको परकम्प नभइ भूकम्प हो ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर भूकम्पले साकेला गाउँपालिकाको भवन चर्किनुबाहेक जिल्लामा अन्य भौतिक र मानवीय क्षतिको जानकारी अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष विरसिका राईले पनि गाउँपालिकाभित्र क्षति भएको जानकारी नआएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्