जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १७:२३

‘रअ’ प्रमुखको सक्रियताप्रति भीम रावलको कडा आपत्ति, रोक लगाउन माग


काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको नेपालमा भइरहेको चलखेलप्रति कडा आपत्ति जनाउनु भएको छ । नेता रावलले आज दिउँसो ट्विट गर्दै नेपालमा ‘रअ’ प्रमुखको सक्रियाप्रति कडा आपत्ति जनाउनु भएको हो ।

रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि नेता, सांसद र पत्रकारलाई निम्ता गरेको थियो । सो निम्ता दुतावासले आफ्नो योजना लागू गराउने सूत्रको खोजीको नीतिअनुसार गरिएको बताइएको छ । दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको नेता रावलको भनाइ छ । उहाँले यस्ता गतिविधि रोकनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ,’ रावलले भन्नुभएको छ । बहुमतले सरकारलाई अधिकार र सामथ्र्य दिएको अवस्थामा दूतावासका गतिविधि कूटनीतिक मर्यादाविपरित भएको पनि रावलले बताउनु भएको छ ।

‘नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो । रोक्ने सामथ्र्य सरकारसंग थिएन, हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामथ्र्य दिएको छ,’ रावलले लेख्नुभएको छ । रावल हाल आफ्नो प्रदेश सुदुरपश्चिममा हुनुहुन्छ ।