काठमाडौं, १६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताउनुभएको छ । आज भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठिमा मन्त्री कुँवरले यस्तो बताउनुभएको हो ।
उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधान गर्नकालागि गैर आवासीय नेपाली संघले खेलेको भूमिका एकदमै प्रसंसनिय भएको बताउनुभयो । उहाँले अहिलेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदारको उद्धार एवं समस्यामा परेका कामदारलाई आइपरेका विविध समस्या समाधान गर्न गैर आवासीय नेपाली संघले सम्बन्धीत रोजगारदाता मुलुकको सरकार र नेपाल सरकारसँग राम्रो सहकार्य गर्दै आएकाले सरकारको प्रयासमा धेरै सहयोग पुगेको बताउनुभयो ।
आफुले यस मन्त्रालयको जिम्मेवारी पाएको आइतबार १ महिना दुईदिन हुँदा वैदेशिक रोजगारीको क्षेत्रका धेरै गुनासो सुनेको भन्दै मन्त्री कुँवरले अब आफुले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अहिलेसम्मको गुनासो र अनुभवको आधारमा वैदेशिक रोजगारिको क्षेत्रका समस्या र समाधानमा धेरै चुनौति रहेको भन्दै उहाँले हाल दुई दर्जन भन्दाबढी नेपाली कामदार खाडीको विभिन्न ठाउँमा कोमामा रहेको जानकारी प्राप्त भएकाले अब जतिसक्दो छिटो उनीहरुलाई स्वदेश फर्काउन आफुले सम्बन्धीत दुतावास र कुटनीतिक नियोगसँग पहल गरेको बताउनुभयो ।
अहिले धेरै नेपाली खाडीका जेलमा रहेको गुनासो पनि आफुले सुन्नु परेको भन्दै उहाँले वैदेशिक रोजगारीमा जानेहरुले धेरै जोखिम मोलेर काम गरिरहेकाले अब नेपाल सरकारले उच्च जोखिममा परेका कामदारको सहयोग गर्ने बताउनुभयो । मन्त्री कुँवरले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत भन्दा बढी योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको जानकारि गराउँदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको बताउनुभयो ।
गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितमा भएको उल्लेख गर्दै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको बताउनुभयो । आचार्यले उक्त बिधेयक पारित गराउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
उहाँले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने दावी गर्नुभयो । यसैगरि, आचार्यले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न सकियो भने कामदार र देशलाई वार्षिक झन्डै २ खर्ब फाइदा हुने बताउनुभयो ।
जसका लागि अहिले श्रम मन्त्री कुँवर, श्रम सचिव एकनारायण अर्याल र सामाजिक सुरक्षा कोषका सिईओ कपिलमणि ज्ञवालीहरुले राम्रो सहयोग गरिरहेको आचार्यले बताउनुभयो । त्यसैगरि, टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्दै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्