जनता टाइम्स

१९ श्रावण २०७९, बिहिबार ०७:३४

आज कम पानी पर्ने अनुमान


काठमाडौं, १९ साउन । आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो ।धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले गर्दा बाढी पहिरोको जोखिम बढाएको छ ।

जमिन गलिसकेकाले अब हल्कादेखि मध्यम वर्षा हुँदा पनि पहिरो जाने जोखिम छ । आज मधेस प्रदेश बाहेकका प्रदेशमा पानी पर्ने सम्भावना छ । धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ ।गण्डकी तथा सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरिएको छ ।