जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार ०८:२७

धादिङको खनियावासस्थित एउटा घरमा भेटियो अमेरिकी र चिनियाँ हतियार


काठमाडौं, १९ साउन । प्रहरीले धादिङबाट सुनजस्तो पहेँलो धातु, अमेरिकी डलरजस्ता देखिने नोटसहित मंगलबार पक्राउ गरेका बेगबहादुर तामाङमाथि थप अनुसन्धान हुँदा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा मंगलबार खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, धादिङबेसी थोपल खोलास्थित लपाङफेदीबाट आउँदै गरेको ग१ज ६७५३ नम्बरको गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गरेको थियो ।सो क्रममा उक्त गाडीको पछाडी सीटमा बसेका धादिङ, खनियावास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङका साथबाट बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु एक थान र अमेरिकी डलरजस्तो देखिने ५० दरको नोट ९७ थान, १०० दलको १६३ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन अवाले बताउनुभयो ।

बेगबहादुर शंकास्पद रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको प्रहरीले बुधबार उनको घरमा खानतलासी गर्दा ‘मेड इन युएसए’ लेखिएको एउटा र ‘मेड इन चाइना’ लेखिएको एउटा पेस्तोल, ती पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, सुनजस्तो देखिने बिस्कुट आकारका पहेँलो धातु एक किलो लेखिएको एउटा र ५०० ग्राम लेखिएको ४ वटा बरामद भएको प्रहरीले जनाएको छ ।