जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार १२:२१

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग


काठमाडौं, १९ साउन । काठमाडौंको लैनचौरबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । ६ नेपालीले चिनियाँ नागरिकलाई उनको लैनचौरस्थित भाडाको घरबाट अपहरण गरेका हुन् । प्रहरीले अपहरितलाई गोंगबुको एक होटलबाट गएराति अपहरणमुक्त गरेको छ । अपहरणमा संलग्न सबै ६ जना नै पक्राउ परेका छन् । अपहरणकारीले चिनियाँ नागरिकलाई बन्धक बनाएर दोभासेमामार्फत १ करोड ५० लाख फिरौती मागेका थिए ।

५० लाखमा अपहरण मुक्त गर्ने सहमति भइसकेको अवस्थामा प्रहरीले उनलाई सकुशल उद्धार गरेको हो । अपहराणहरीहरुको परिचय खुलाइएको छैन । उद्धार गरिएका चिनियाँ नागरिकलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीको जिम्मा लगाइएको छ ।

प्रहरीले अपहरणकारीबाट चिनियाँ नागरिकको साथबाट लुटिएको ८ लाख नगद र २७ वटा मोवाइल सेट पनि बरामद गरेको छ ।