जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १२:५२

यु–२० साफको फाइनल आज, भारत र बंगलादेश भिड्दै


काठमाडौं २० साउन । यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ ।

भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।

पहिलो पटक यु(२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन् । घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।

भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु(१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन ।

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो ।