जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार २०:४९

दक्षिणपन्थी र वामपन्थी मिलेर गठबन्धन गर्नु हिन्दु भएर गाईको मासु खानुजस्तै अपराध हो : बिजुक्छे


पोखरा, साउन २२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले युद्धविरोधी जनमत बिस्तार गर्न सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । एक चीन नीति र चीनको चेतावनी लत्याउँदै चीनको अभिन्न अंग थाइवानमा संरा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट उत्पन्न पछिल्लो तनावपछि युद्धको संकेत मिलेको भन्दै युद्धविरोधी जनमत तयार गर्न नेपाली सञ्चारकर्मीहरुसँंग अनुरोध गर्नुभएको हो ।

शुक्रबार पोखरामा पत्रकार समाज नेपालको आयोजनामा सम्पन्न पत्रकार भेटघाटमा अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय परिस्थितिप्रति नेपालका शासक दलहरू गम्भीर र जिम्मेवार नहुँदा नेपाली जनताबीच युद्धविरोधी मत प्रचार गरेर नेमकिपाले आफ्नो कर्तव्य पूरा गरिरहेको बताउनुभयो ।

अमेरिकाले ‘चिनियाँ उपनिवेशवाद’ भन्दै चीनविरुद्ध अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूलाई भड्काउन नसकेपछि संरा अमेरिका चीनलाई युद्धमा फसाउन खोजिरहेको भन्नुहुँदै उहाँले युद्ध भए संसारको विकासको गति रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “संरा अमेरिकी धम्की र आक्रामकतासामु चीन कदापि डराउने छैन ।”

कम्युनिस्ट देशको पक्ष लिने कि पुँजीवादी देशको पक्ष लिने भन्ने अलमलमा पर्नुभन्दा हाम्रो देश र दक्षिण एसियाको सुरक्षा र एसियामा युद्ध हुन नदिन नेपाली जनता सचेत हुनुपर्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “तेस्रो विश्वयुद्ध एसिया महादेशमा थोपर्ने चालबाजीको विरोध हुन आवश्यक छ ।” युक्रेन लडाईमा चीनले पश्चिमा मोर्चालाई साथ नदिएको रिसमा संरा अमेरिकाले चीनसँग बद्ला लिन खोजेको चर्चा गर्दै उहाँले चीनलाई थाइवानमा फसाएर संरा अमेरिकाले युक्रेन युद्ध जित्न खोजिरहेको बताउनुभयो ।

चिनियाँ जनवादी क्रान्तिको सफलतापछि सन् १९४९ मा च्याङ काई शेकको नेतृत्वमा प्रतिक्रियावादी वर्ग चीनकै अभिन्न अंग थाइवानमा भागेको ऐतिहासिक सन्दर्भको चर्चा गर्दै उहाँले सन् १९७१ मा साङ्घाई विज्ञप्तिमा संरा अमेरिकाले एक चीन नीतिको पक्षमा हस्ताक्षर गरेको बताउनुभयो । अमेरिकाले चीनविरुद्ध घेराबन्दी गर्न बहुपक्षीय गठबन्धन बनाए पनि हिन्द प्रशान्त क्षेत्रमा संरा अमेरिका आफ्नो लक्ष्यमा सफल नहुने उहाँको भनाइ थियो ।

श्रीलंका र बंगलादेशमा आर्थिक संकटको मूल कारण भारतीय एकाधिकार पुँजी भएको प्रस्ट पार्नुहँुदै बिजुक्छेँले नेपालले भारत र चीन दुवै छिमेकी देशसँग समदुरी कायम गर्न सके नेपालमा आर्थिक संकटको जोखिम कम हुने बताउनुभयो । समसामयिक राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नेपालका शासक दलहरू सरकार बनाउन दिल्ली धाउन होइन, नेपाली जनताबीच जानुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,“नेपालको सरकार नेपाली जनताले बनाउने हो, दिल्लीले होइन ।”

निर्वाचनमा भाग लिनु पूर्व राजनीतिक दलले आफ्नो चुनावी घोषणा पत्र जारी गर्नुपर्ने र जारी घोषणा पत्रको भावनाविपरीत सत्ताको लागि फरक राजनीतिक विचारका दलसँग गठबन्धन गर्न नहुनेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो । “दक्षिणपन्थी र वामपन्थी दल मिलेर सत्ता गठबन्धन गर्नु भनेको हिन्दु भएर गाईको मासु खानु जस्तै गलत हो”, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचन आयोगले सरकारको अंगको रूपमा काम गर्न नहुने बताउँदै आयोगले निर्वाचनको मिति संसद विघटन भएकै दिन घोषणा गर्नुपर्ने बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले चीनलाई घेराबन्दी गर्न खोजेर संरा अमेरिकाले संसारमा युद्ध र अशान्ति थोपर्न खोजेको बताउनुभयो ।

उहाँले प्रदेश तहलाई शासक दलले भ्रष्टाचार, अनियमितता र राजनीतिक विकृतिको केन्द्र बनाएको भन्नुहुँदै शासक दल नसच्चिए देश र नेपाली जनताले अझ ठुलो दुःख पाउने बताउनुभयो । पत्रकार भेटघाटमा पत्रकार समाजका नीरज लवजूले पनि बोल्नुभएको थियो ।