जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १४:४९

बागमति र लालबकैया नदीमा बढ्यो पानीको बहाब, उच्च सतर्कता अप्नाउन निर्देशन


रौतहट, साउन ८ । असारको अन्तिम सातामा आएको बाढी र डुबानको पीडा कम नहुँदै रौतहटमा बेला फेरी बाढीको त्रास बढेको छ । मंगलबार राति देखि परेको लगातारको वर्षाका कारण बाग्मती र लालबकैया नदीमा बुधबार अपरान्हबाट पानीको बहाव बढेपछि यस्तो त्रास बढेको हो ।

दुवै नदीमा पानीको बहाव बढेसँगै वरपरका बस्तीलाई समस्यामा पार्नसक्ने स्थानीय प्रशासनले जनाएको छ । चुरे क्षेत्रमा भारी वर्षा भएकाले दुवै नदीमा बाढी आएको हो । असारको बाढीले बागमति नदीमा २ ठाउँमा तटबन्ध भत्काएको थियो । राजदेवीको ब्रम्हपुरी र गढिमाइ ३ लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको हो । त्यस स्थानमा बोराको तटबन्ध लगाउने काम भईरहेको बेला बर्षाले पुन समस्या ल्याउने देखिएको छ ।

जिल्ला प्रशासनले वर्षा र बाग्मतिको अवस्था हेरेर नदी वरपरका बस्तिमा उच्च सतर्कता अप्नाउन निर्देशन दिएको छ । अहिले सुरक्षा अधिकारीहरु छलफलमा जुटेका छन् । गत असार २७ गते आएको बाढीले लाल बकैया नदीले ७ स्थानमा तटबन्ध भत्काएको थियो । बुनियाद, लक्षिमपुर , परोहा, राजपुर, कटहरिया, देवाही र बन्जरहा नजिक तटबन्ध बगाएको थियो । बाढीले बगाएको तटबन्ध मर्मत नभएकोले स्थानीय त्रसित छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले दुवै नदीमा पानीको सतह बढेकोले वरपरका स्थानीयबासीलाई सतर्क रहन भनेको जानकारी दिनुभयो ।

‘हामिले सबै स्थानीयतहलाई बाढी र डुबानबाट मानवीय लगायतको क्षती कम गराउने तिर सतर्क रहन भनेका छौं, माथिल्लो निकायमा पनि जानकारी गराईसकेका छौं र तयारी हालतमा बसेका छौं,’ ’ थापाले भन्नुभयो । बागमतिको पानी गढीमाई नगरपालीकाको लक्ष्मिपुर क्षेत्रबाट गाउँ पसेको भनेर प्रजिअ थापालाई स्थानीयले जानकारी गराएका छन् । कर्मैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रका स्थानीयलाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।