जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार ०९:११

भारतले जित्यो साफ यू-२० फुटबलको उपाधि, नेपाल फाइनलमै पुगेन


काठमाडौं, २१ साउन । भारतको भुवनेश्वरमा आयोजित साफ यू-२० फुटबलको उपाधि भारतले हात पारेको छ।

बंगलादेशलाई ५- २ गोल अन्तरले हराउँदै भारतले उपाधि चुमेको हो। निर्धारित अवधिमा २/२ गोलको बराबरीमा भएका भारत र बंगलादेशबीचको प्रतिस्पर्धा अतिरिक्त समयमा निर्णायक बनेको हो।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा आयोजित फाइनल प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो मिनटमै भारतले गोल गर्दै शुरुआती अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनटमा बंगलादेशले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो।

दोस्रो हाफको शुरुमै बंगलादेशले २-१ को अग्रता लियो। ६० औं मिनटमा भारतले एक गोल गर्दै खेललाई फेरि बराबरीमा ल्यायो। त्यसपछि निर्धारित ९० मिनटको खेल २-२ को बराबरीमा सकियो।

अतिरिक्त समयको पहिलो हाफमै भारत २ गोल गर्न सफल रह्यो। त्यसको दुई मिनटमै भारतले अग्रता दोब्बर पार्‍यो। र, खेलको ९८ औं मिनटमा पुनः भारतले एक गोल थप्यो।

सन् २०१५ र २०१७ को उपाधि विजेता नेपालले भने यसपटक फाइनलमा पुग्न सकेन।