जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १३:०३

एक्लिए एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, कार्यसमितिका दुई तिहाई बढी बिपक्षमा उभिए


लण्डन, साउन २१ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिमा हालै विकसित घटनाहरु नयाँ चरणमा पुगेको छ । अध्यक्ष प्रेम गाहा मगरद्धारा श्रृङखलाबद्द रुपमा अवैधानिक गतिविधि भएको र संघलाई एकलौटी ढंगले अघि बढाएर संकटमा फसाएको भन्दै कार्यसमितिको ७५ प्रतिशत सदस्यहरुले एक संयृुक्त प्रेस वक्तव्य जारी गरेका छन् । उक्त प्रेस वक्तव्यसंगै आज अगस्ट ६ मा गर्ने भनिएको साधारण सभा स्वतः रद्द भएको छ ।

गत अगस्ट ५ को दिन कार्यसमितिका पुरै ६ जना उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायत अन्य दश जना सदस्यहरु र चारमध्ये तीन वटा राज्यपरिषदका अध्यक्षहरुले सामुहिक रुपमा प्रेस वक्तव्य प्रकाशित गर्दै अध्यक्ष प्रेम गाहा मगरको विरुद्द ऐक्यवद्धता जनाउनु भएको छ । अध्यक्ष लगायतका ३३–सदस्यीय कार्यसमितिमा अहिले सचिव नम्रता घले, सदस्यहरु विशाल राई, चेतन राना र आफूद्धारा मनोनित को–अप सदस्यहरु हितकाजी गुरुङ, आवेश राई र ज्ञाञ्जू लामा मौन रहेका छन् भने प्रवक्ता भरतमणी लिम्बू, युवा संयोजक अनिल मल्ल र सदस्य चम्पा थापा मगर मात्रै प्रेम गाहा मगरको पक्षमा खुलेर लाग्नुभएको छ ।

कार्यसमितिका सदस्यहरुमध्ये सचिव ज्ञानेन्द्र आले भने मगर संघ यूकेको डरको कारण प्रेस वक्तव्यमा हस्ताक्षर गर्न मान्नुभएको छैन भने महिला संयोजक बिमला लिम्बू नेकपा माआवादी केन्द्रनिकट आफ्नो संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको महासचिव भएको र अध्यक्ष मानबहादुर गुरुङको दवावको कारण हस्ताक्षर अभियानमा भाग नलिएको बताउनु भएको छ । तर दुवै पदाधिकारीहरुले प्रेस वक्तव्यमा त्यसरी हस्ताक्षर नगरेपनि आज अगस्ट ६ शनिबार हुने भनिएको साधारण सभामा आफूहरुले भाग नलिने बताउनु भएको छ ।

को को कतातिर ?
प्रेम गाहा मगरको नेतृत्वविरुद्द हस्ताक्षर अभियानकर्ताहरुः
उपाध्यक्षहरु सबैः नारायण कँडेल, सुनील बाबु खड्का, शकुन्तला गुरुङ, राम चन्द्र पोखरेल, मोहन कार्की, गोविन्द खरेल । महासचिव खुशी लिम्बू । सचिव बिष्णु चालिसे । कोषाध्यक्ष बिष्णु खरेल, सहकोषाध्यक्ष शशांक शर्मा । सदस्यहरुः दीपक थापा (हिरा), सपना खनियाँ, भानु घिमिरे, भिमलाल खनाल, सुरेश परियार, पदम शाही, बाल कृष्ण दाहाल, उपेन्द्र पौडेल, सुमन शर्मा (सोहन सापकोटा) । को–अप सदस्यहरु क्षमता ढकाल, श्याम लुईंटेल । राज्य परिषद अध्यक्षहरुः बल थापा (नर्दर्न आयरल्याण्ड), काँशीराम भण्डारी (स्कटल्याण्ड), कृष्ण भण्डारी (वेल्स) ।

प्रेम गाहा मगरका समर्थनमा लागेकाहरुः
भरतमणी लिम्बू (प्रवक्ता), अनिल मल्ल (युवा संयोजक) र चम्पा थापा मगर (सदस्य)

हस्ताक्षर नगर्ने र साधारण सभामा पनि भाग नलिनेः
बिमला लिम्बू (महिला संयोजक)
मौन र अनिर्णितहरुः
सचिव नम्रता घले । सदस्यहरुः विशाल राई, चेतन राना । को–अप सदस्यहरुः हितकाजी गुरुङ, ज्ञाञ्जु शेर्पा, आवेश राई ।

एनआरएनए यूकेका महासचिव खुशी लिम्बुले गत जुन महिनामा अध्यक्ष गाहा मगरले एकलौटी र स्वेच्छाचारी ढगले संघलाई अघि बढाएको, आर्थिक अनियमितता गरेको, गत सालको आइसीसी निर्वाचनताका डेलिगेट्स चयनमा षडयन्त्र गरेको, माथिल्लो निकाय आइसीसीलाई नटेरेको र कार्यसमितिको बैठक समेत महासचिवसंगको सल्लाहमा कहिल्यै नगरेको भन्दै विद्रोह सुरु गरेपछि एनआरएनए यूके अहिले नयाँ चरणमा पुगको हो ।

त्यसपछि अध्यक्ष गाहा मगरको प्रस्तावहरु पटक पटक असफल हुने क्रममा गत जुलाई २४ को बैठकमा नेपालस्थित आइसीसीलाई सदस्यता शुल्क नपठाउने उनको एजेण्डा असफल भयो भने गत अगस्ट ४ को बैठकले आज अगस्ट ६ मा गर्ने साधारण सभामा माथिल्लो निकाय आइसीसीलाई नबोलाउने उनका निर्णय बहुमतले असफल भयो ।

यति हुँदा हुँदै पनि प्रेम गाहा मगर आज अगस्ट ६ को लागि तय गरिएको कार्यक्रम जसरी भएपनि सम्पन्न गर्ने भएका छन् । कार्यक्रमको प्रमुख अतिथि एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले बोलाइएको छ ।

शुक्रबार अगस्ट ५ मा जारी कार्यसमितिको विज्ञप्ति यस्तो छः

गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेका हामी पदाधिकारी तथा सदस्यहरु गैर आवासीय नेपाली संघ यूकेमा हालै मात्र विकसित भएका घटनाहरुका सम्बन्धमा आफना धारणाहरु जानकारी गराउन चाहान्छौं ।

(१) गैर–आवासीय नेपाली संघ युकेले अन्तराष्ट्रिय समन्नवय परिषद (आईसीसी) संग एमओयु गर्ने, सदस्यतावापतको रकम तिर्ने तथा छुट्टै विधान अधिवेशन गर्ने सम्बन्धमा मिति २४ जुलाई २०२२ मा भएको कार्य समितिको बैठकले गरेको निर्णय र निर्णयपछि आईसीसीमा सदस्यतावापतको शुल्क पठाएको विषयलाई हामी स्वागत गर्दछौं । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूके यसको विधानको धारा ५.३ अनुसार अन्तराष्ट्रिय समन्वय परिषदको मातहतमा रहने हुँदा गैर–आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदसंग समन्वय गर्नु पर्छ भन्ने कुरामा हामी अटल विश्वास राख्दछौ ।

(२) राष्ट्रिय समन्वय परिषद यूके विधान र पद्दतिले चल्ने संस्था हो । यसको कार्यकारिणी निकाय भनेको कार्य समिति हो । कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुको सामुहिक निर्णय नै राष्ट्रिय समन्वय परिषदको निर्णय हो । सामुहिक निर्णय प्रकृयामा सबै पदाधिकारी तथा सदस्यहरुको समान हैसियत हुने कुरा विधानको धारा १९.१.५ ले स्पष्ट पारेको छ । उक्त धारामा कुनै बिषयमा छलफल गर्दा मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिने भन्ने उल्लेख छ । यसबाट के स्पष्ट बुझिन्छ भने कार्य समितिले कुनै बिषयमा निर्णय लिँदा पदाधिकारी र सदस्यहरुको मतका आधारमा निर्णय गर्नु पर्दछ । मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षले कुनै निर्णय दिनु नपर्ने र बहुमतको निर्णय नै निर्णायक हुने भन्ने नै हो । विधानको स्पष्ट व्यवस्थाका बाबजुद राष्ट्रिय समन्वय परिषद युकेका अध्यक्ष प्रेम गाहा मगरले कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको अभिमतलाई अस्वीकार गर्ने, नमान्ने, कार्य समितिमा भएको निर्णयलाई पनि नमान्ने, कार्यसमितिको बहुमत सदस्यहरुको निर्णायक विचार र अभिमतलाई अस्वीकार गर्ने कार्यबाट गैर–आवासीय नेपाली संघ यूके पुर्ण रुपमा घाईते भएको छ ।

(३) गैर–आवासीय नेपाली संघ यूकेको ६ अगष्टमा आयोजना हुने संघ–संस्था प्रतिनिधि सभा (बार्षिक साधारण सभा) को आयोजनाका सन्दर्भमा समेत विधि र पद्दतिविरुद्ध जवरजस्ती अवैधानिक कृत्यहरु भएकाले यसले गैर–आवासीय नेपाली संघ यूकेको गरिमालाई थप क्षतविक्षत बनाएको छ । यसमा कार्यसमितिलाई निर्णय गर्न नदिइएको, सभामा प्रस्तुत गर्ने विषयहरु, सहभागी हुने ब्यक्ति तथा सदस्यहरु तथा निमन्त्रणा गर्ने ब्यक्तिहरुका सम्बन्धमा समेत कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको धारणाले कुनै स्थान पाउन नसकेको अवस्था छ । कार्यक्रममा बेलायतमा रहेका सम्पूर्ण संघ–संस्था तथा नेपाली दाजुभाई तथा दिद बहिनीहरु तथा पन्जिकृत सदस्यहरु तथा संस्थाको विभिन्न पदमा निर्वाचित भएर कार्य गरिरहेका ब्यक्तिहरुलाई समान हैसियतमा बोलाउने तथा सहभागी हुने अवसर दिने कार्यमा प्रतिबन्ध गरिएको छ । गैर–आवासीय नेपालीहरुको पवित्र संस्थामा आपसमा हिँसा प्रतिहिँसा प्रोत्साहन हुने तथा घृणा उत्पन्ने गरी अध्यक्षज्युबाटै अभिब्यक्ति आएको छ र सोही अनुसार उपस्थिति र कार्यक्रम डिजाइन गरिएको छ । यो बहुलठ्ठीपुर्ण कार्यमा कार्यकारिणी समितिको कुनै भूमिका नरहेको कुरा स्पष्ट पार्न चाहान्छौ ।

(५) संघ–संस्था प्रतिनिधि सभा (बार्षिक साधारण सभा) को कार्यक्रममा गैर–आवासीय नेपाली संघको उपल्लो निकाय आईसीसीलाई अस्वीकार गरी आईसीसीका यूकेमा रहेका पदाधिकारीहरु र हामीसंगै निर्वाचित भएका गैर–आवासीय नेपाली संघ यूकेका आईसीसी सदस्यहरुलाई कार्यक्रममा प्रतिबन्ध गरिएकोप्रति हामी गम्भीर भएका छौ । कार्यक्रममा गैर–आवासीय नेपाली संघ यूकेका पञ्जिकृत सदस्यहरु तथा संघ–संस्था प्रतिनिधि सभामा सहभागी हुनु पर्ने प्रतिनिधिहरु तथा गैर–आवासीय नेपाली संघका अभियन्ता र शुभचिन्तकहरुलाई सम्मानपुर्वक कार्यक्रममा सहभागी हुने अवसर दिईएको छैन । कार्यक्रमको विवरण, यसको खाका र यहाँ प्रस्तुत गरिने विषयवस्तुहरु कार्यसमितिको सहमति वा निर्णयका आधारमा तय गरिएका होइनन् ।

(६) अतः गैर–आवासीय नेपाली संघ यूकेको ३३–सदस्यीय कार्य समितिका हामी तत्काल उपलब्ध (बहुमत) पदाधिकारी तथा सदस्यहरुले भोली ६ अगष्टमा आयोजना हुने संघ–संस्था प्रतिनिधि सभा (बार्षिक साधारण सभा) (क) गैर–आवासीय नेपाली संघ यूकेको आधिकारीक कार्यक्रम होइन भन्ने कुरा जानकारी गराउन चाहान्छौ । (ख) गैर–आवासीय नेपाली संघ यूकेको आधिकारिक कार्यक्रम नभएको हुनाले यसले गरेका कुनै पनि निर्णय गैर–आवासीय नेपाली संघ यूकेका लागि स्वीकार्य तथा मान्य नहुने कुरा जानकारी गराउन चाहान्छौं । र (ग) हामी यस्तो अनाधिकृत रुपमा आयोजित गैरजिम्मेवार गतिविधिहरु हुने यो कार्यक्रममा हामी अनुपस्थित हुने कुरा जानकारी गराउन चाहान्छौं।