रौतहट, साउन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा छिमेकी मुलुक भारतसँग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन । रौतहटको गौरमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
हरेक बर्ष बर्षाका समयमा गौरलगायत सीमा क्षेत्र डुबान पर्दै आएको अवस्थामा यो सरकारले भारतसँग दोहोरो संवाद गरेर सीमा क्षेत्रको ड्याम हटाउन नसक्ने उहाँले बताउनु भयो । एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको तथ्य खोल्नुभयो ।
‘भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिएँ तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेको छ,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले भ्रष्टाचारी, षड्यन्त्रकारी र देश विगार्नेको पार्टी नभएको भन्दै एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गरेको बताउनु भयो । अध्यक्ष ओलीले जबसम्म भ्रष्टाचारमा लिप्त भई जनताको खुन पसिना चुस्ने पार्टी रहिरहन्छ तवसम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहने बताउनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘कसले भन्छ एमालेको सरकार बन्दैन ?, आउँदो एक बर्षभित्रमा एमालेको सरकार बनाएर देखाउने छु ।’ मेरो नेतृत्वमा रहेको सरकारमा पछ्यौटेपन, भेदभाव, छुवाछुतलाई हटाएर समृद्धितर्फ अघि बढेको तर अहिलेको परमादेशी सरकार चरम भ्रष्टाचारमा लिप्त भएको भन्दै उहाँले नेपाली जनताको इच्छा आकाँक्षाको घाँटी निमोठी रहदा पनि त्यस कार्यमा केही आफूलाई कम्युनिष्ट भनाउदाहरुको साँठगाठमा उक्त कुकृत्य जारी रहेको बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, कृषिको आधुनिकीकरण देखि लिएर विभिन्न योजनाहरुलाई विशेष प्राथमिकतामा दिएर संचालनमा राखेपनि एमालेको सरकार हटेपछि उक्त योजनाहरुलाई ओझेलमा पारिएको उहाँले बताउनु भयो । मदर्शा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने आफ्नो योजना पनि त्यतीकै रहेको उहाँले बताउनु भयो । उहाँले तराई मधेशका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्