जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १४:१५

डा गोविन्द केसीले दिन थाले इलाम अस्पतालबाट सेवा


इलाम, साउन २४ । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमबारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो । उहाँले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनु भएको छ ।

इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आउनुभएको हो । करिब २७ वर्ष शिक्षण अस्पतालमा काम गर्नुभएका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको छ ।