जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०४:०४

तीन सन्तान तमोरले बगाएपछिको पीडा, किताव-कापी देखेर अर्धचेत भए राई दम्पत्ति


धनकुटा, साउन ९ । धनकुटा नगरपालिका–८ सान्ताङ निवासी शंखबहादुर राई र उनकी पत्नी रोहनश्वरी राईलाई यतिबेला संसार नै गुमेको अनुभुति भइरहेको छ । बनिबुतो गरेर जिविकोपार्जन गर्दै आएका शंखबहादुर र उनकी पत्नी रोहनश्वरीले तीन सन्तान एकैपटक गुमाएपछि शोकमा डुबेका छन् । गत आइतबार अपरान्ह याक्चनास्थित तमोर नदी किनारमा खेल्दै गर्दा उनीहरुको एक छोरा र दुई छोरीलाई नदीले बगाएको थियो ।

उनीहरुका ४ वर्षीया छोरी एन्जिला, ७ वर्षीया छोरी सलिना र ९ वर्षीय छोरा सन्दिपलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो। छोराछोरीलाई तमोरले बेपत्ता बनाएकै क्षणबाट राई दम्पत्तिको भोक, निन्द्रा सवै हराएको छ । त्यसदिन उनीहरु घरभन्दा एक घण्टा तल बेंसीमा छिमेकीको धान रोप्न गएका थिए। उनीहरुसँगै छोराछोरीहरु पनि गएका थिए। खेत रोपाईँमा बाबुआमा व्यस्त रहेको बेला नदी किनारमा खेल्दै गरेका तीनै जनालाई पालैपालो नदीले बगायो । त्यसदिन विद्यालय बिदा थियो। बाबुआमाको साथमा नदी किनारको खेतमा उनीहरु पनि सँगै गएका थिए। प्रत्यक्षदर्शीको रुपमा बालबालिकासँग खेल्दै गरेका ८ वर्षीय अनिश राईका अनुसार पहिले बहिनीहरुलाई नदीले बगाएपछि उद्धार गर्न गएका दाजु सन्दिप पनि तमोरमै बगे।

केहिबेर अघिसम्म खेल्दै गरेका आफ्ना सन्तान नियालेका बाबुआमा क्षणभरमा सबै सन्तान नदीले बगाएको थाहा पाएपछि बेहोस भए। बालबालिकाहरुसँगै खेल्दै गरेका अनिशले रुदै कराउँदै राई दम्पतीलाई घटनाबारे सुनाएका थिए। धानको बिउ उखेल्दै गरेका बाबु शंखबहादुरले सुरुमा बालकको कुरा पत्याउन सकेनन्। नदी किनारमा सबै छोराछोरीको नामले बोलाउँदै, चिच्याउँदै दौडिए। त्यतिञ्जेलसम्म तमोर नदीले उनका तीनै सन्तनलाई निलिसकेको थियो । साँझ उज्यालो हुन्जेल आफन्त तथा छरछिमेक भेला भएर खोजतलास गरेपनि फेला पार्न सकेनन्। घटनापछि बाबुआमा अझै घर फर्कन सकेनन्।

आफन्तको घरमा बस्दै आएका दुवै जना आज मात्रै घर आइपुगे । घरभित्र पुग्दा छोराछोरीको कपि किताब देखेपछि दुवै अर्धचेत भए।  ‘मेरो झुप्रो मात्र शून्य छैन अब संसार रित्तो बनेको छ’ शंखबहादुरले भने, ‘हे दैव किन यस्तो सजाय दियौ ?’ उनको यो बिलौनाले सवैको आँखा रसाइरहेका छन ।