जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १४:४४

बालाजुको आगलाजी नियन्त्रणमा, साढे चार करोड रुपैयाँ क्षति


काठमाडौं, साउन २५ । काठमाडौं महानगरपालिका–१६, बालाजुमा आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।

अहिले आगो नियन्त्रणमा लिइएको छ । स्थानीय र दमकलको सहायतामा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ । कारखानामा विद्युत सट भएर आगलागी भएको भन्ने सूचना पाइएको प्रजिअ रिजालले बताउनु भयो ।

बालाजु औद्योगिक क्षेत्रसँगै रहेको कारखानामा बुधबार दिउँसो अचानक आगो लागेको थियो । कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।