जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार ०७:१५

अफगानिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा पनि आयरल्यान्ड विजयी


काठमाडौं, २७ साउन ।  अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो ।

जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर १ सय २५ रन जोड्दै भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एकरएक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले ३६, इब्राहिम जार्दनले १७ र अजमुताल्लाह ओमरजाइले ११ रन जोडे । आयरल्यान्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २–२ विकेट लिए । पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । यी दुईबीचको तेस्रो खेल आज हुँदैछ ।

५ खेलको टी–२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्यान्डको भ्रमणमा रहेको छ ।