जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १०:२९

नेकपाभित्र पेचिलो बन्दै स्कूल बिभागको बिवाद, सचिवालय बैठक अनिश्चित


काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित बनेको छ । पार्टी स्कूल बिभाग प्रमुखको बिषयमा पूर्वएमाले र पूर्वमाओवादीबीच सहमति जुटन नसक्दा सचिवालय बैठक अनिश्चित बनेको हो ।

गत साउन ५ गते ७७ जिल्ला र ६ ओटा महानगरको इञ्चाज–सहइञ्चार्जको टुंगो लगाएर ७ गते बोलाइएको बैठक स्कूल बिभागकै बिवादले आजका लागि सारिएको थियो । तर आज पनि बैठक बस्ने सम्भावना नरहेको सचिवालयका एक नेताले जनताटाइम्स डटकमलाई बताए । ‘स्कूल बिभागको प्रमुखमा सहमति भएपछि मात्रै सचिवालय बैठक बस्नेछ, अहिलेसम्म सहमति जुटन नसकेको कारण बैठक बस्ने संभावना निकै कम रहेको छ,’ ती सदस्यले भने । बिभागको नेतृत्व टुंगो लगाउन नेकपाले आज १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएको थियो ।

स्कूल बिभागको बिवाद टुंगोमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पटक पटक छलफल गरे पनि सहमति जुटन सकेको छैन । पाटीृ स्कूल बिभागमा सचिवालय सदस्य इश्वर पोखरेलको नाम प्रस्ताव भएपनि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दावी गरेपछि सहमति जुटन सकेको छैन । श्रेष्ठले आफू छैटौं बरियतामा रहेको र पोखरेल सातौंमा रहेकोले पनि आफूले पाउनु पर्ने दावी गर्नुभएको छ । अध्यक्ष ओलीले नै बैठकमा पोखरेलको नाम प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो दावा पेश गर्नुभएको थियो ।

दुई नेताबीच सहमति जुटन नसकेसँगै स्कूल बिभागमा आकांक्षी बढेका छन । स्थायी समिति सदस्य बेदुराम भुसाल, घणश्याम भुसालले पनि सो बिभागमा दावी गर्नुभएको छ । पार्टी स्कूल बिभागको बिवाद बढेपछि सचिवालय बैठक नै स्थगित हुने अवस्था देखिएको हो । यसैबीच अध्यक्ष ओलीले पूर्वएमालेको भागमा परेको १८ ओटा बिभाग प्रमुख र स्कूल बिभागको बिषयमा सचिवालयमा रहेका पूर्वएमाले नेताहरुसँग छलफल गर्नुभएको छ ।

जिम्मेवारी बाँडफाँटमा पूर्वएमालेतर्फ अन्यायमा परियो भन्ने अवस्था नदेखिओस र कुनै गुटगत अवस्था पनि नहोस भनेर ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसँग छलफल गर्नुभएको हो । पार्टीकै प्रवक्ता जस्तो गहन जिम्मेवारीमा रहेका नेताले नै निहुँ खोजेर स्कूल बिभागको लफडा निकालेपछि ओलीले पूर्वएमाले नेतासँग परामर्श गर्नुभएको हो ।

यसअघिको बैठकमा ओलीले स्कूल बिभाग इश्वर पोखरेललाई नै दिने प्रस्ताव आफूले बैठकमा राख्ने जानकारी दिनुभएको थियो भने ५ गते बसेको बैठकमा स्कूल् बिभागमा पोखरेलको नाम प्रस्ताव गर्नुभएको थियो । तर प्रवक्ता श्रेष्ठले आफूले पाउनु पर्ने अडान राखेपछि बिभागको प्रमुख टुंग्याउन बैठक दूई दिनपछि सारिएको थियो । त्यसयता सचिवालय बैठक नै बस्न सकेको छैन ।

पूर्वएमालेतर्फको भागमा परेको बिदेश बिभागमा बरिष्ठ नेता नेपाल, नीति अध्ययन प्रतिष्ठानमा खनाल, संगठन बिभागमा गौतमले नेतृत्व गर्ने सहमति यसअघि नै भइसकेको छ । तर सोही बैठकमा साझा निर्णयका रुपमा अघि सारिएका पोखरेललाई भने अपमान गर्दै स्कूल बिभागमा रोक्ने षडयन्त्र भएको हो ।