जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १६:२१

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ


काठमाडौं, २७ साउन,  । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गर्नुभएको छ ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उहाँले शरीरमा पेट्रोल खन्याउनुभएको थियो । तर प्रहरीले उहाँलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बस्नुभएको थियो । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उहाँको माग छ ।

गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उहाँ पक्राउ पर्नुभएको थियो ।आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उहाँको भनाइ छ ।तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उहाँ उच्च अदालत जनकपुर पुग्नुभएको छ । मुद्दा अदालतमा विचाराधीन छ ।