जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १९:४९

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि


खोटाङ, २७ साउन । खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो ।

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ ।

कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताउनुभयो । ‘कोभिड–१९ लागेको छ भनेर टेस्ट गरेको होइन ।

नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न टेस्ट गरिएको हो,’ अध्यक्ष राईले भन्नुभयो, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’ खोटाङमा पुनः कोभिड–१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टीजेन परीक्षणमा भने चासो दिएका छैनन् ।