जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार ०७:१६

महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब


काठमाडौं, २८ साउन । महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो ।

निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन । महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर गएको जेठ २७ देखि माइतीघर र वसन्तपुरमा धर्ना र अनसन बस्नुभएको थियो । उहाँसँग असार ३ गते माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाणले अनसन तोड्नुभएको थियो ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने र अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उहाँले फेरि अनसन सुरु गर्नुभएको थियो ।