जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार ०७:२८

कतार विश्वकपको उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर


काठमाडौं, २८ साउन ।  विश्वकप २०२२ को एक सय दिनको काउनडाउन औपचारिक रूपमा घोषणा गर्दै फिफा र कतारले उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर गरेका छन् ।

फिफा र कतारले समर्थक, प्रायोजक र प्रसारकका लागि सहयोगी हुने भन्दै पूर्वनिर्धारित तालिकामा परिवर्तन गरेको हो। नयाँतालिकासँगै आयोजक कतार र इक्वेडरबीचको खेल पूर्वनिर्धारित तालिका भन्दा २४ घन्टा अघि आयोजना हुने भएको छ। फिफाले बिगतमा पनि आयोजक राष्ट्रको खेल उद्घाटन सामारोह लगत्तै राखिने परम्परा भएकाले त्यसलाई निरन्तरता दिएको जनाएको छ। ‘प्रतियोगिता सुरु हुन तीन महिनाभन्दा पनि कम समय बाँकी छ। यो निर्णय आश्चर्यजनक रूपमा आएको छ। यो गम्भीर विषय मात्र होइन। टाउको दुखाईको विषय पनि हो,’विश्वकप प्रशारण अधिकार लिएका एक सदस्यले भने।

फिफाले भने अध्यक्ष जियानी इन्फान्टिनो र ६ महादेशका फुटबल प्रमुखको छलफलपछि सो निर्णय लिएको बताएको छ। ‘विश्वकपको उद्घाटन समारोहपछि आयोजक राष्ट्रको खेल आयोजना हुने परम्परा रहेको छ,‘फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’

पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा हुने तय थियो। यसअघि नोभेम्बर २० मा सेनेगल र नेदरल्यान्ड्सविरुद्ध उद्घाटन खेल हुने तालिका रहेको थियो। नयाँतालिकाअनुसार समूह ‘ए’अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीचको खेल नोभेम्बर २१ मा हुनेछ। फिफाले तालिका परिवर्तन भए पनि उद्घाटन खेलको टिकट किनेका समर्थकमाथि त्यसको कुनै असर नपर्ने बताएको छ। कतारले सन् २०१० मा विश्वकप २०२२ को आयोजना अधिकार पाएको थियो।

मानव अधिकार उल्लंघन गरेको भन्दै लगातार विरोध भए पनि कतारले त्यसको खण्डन गर्दै आएको छ। ‘आज फिफाले कतार र इक्वेडरबीच उद्घाटन खेल आयोजना गर्ने निर्णयको हामी स्वागत गर्छौं। यसले घरेलु समर्थकलाई खुसी दिएको छ,‘आयोजकले भनेको छ ।

यता इक्वेडरका समर्थकले भने आफ्नो राष्ट्रको खेल हेर्न एकदिन अघि मैदान उपस्थित हुनु पर्ने भएको छ। कोकाकोलाको पूर्वस्पोट्र्स मार्केटिङ प्रमुख रिकार्डो फोर्टले विश्वकपको पूर्वनिर्धारित तालिका परिवर्तनले प्रायोजकलाई समस्यामा पार्ने बताए। हालसम्म विश्वकपको चार लाख ५० हजार टिकट बिक्री भइसकेको छ।

कतार विश्वकप यस पटक नोभेम्बर डिसेम्बरमा आयोजना हुँदै छ। यसअघि जुन–जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक जाडो याममा हुने लागेको हो। फिफा अध्यक्ष इन्फान्टिनोले पनि कतार विश्वकप २०२२ अहिलेसम्मको यादगार विश्वकप हुने दाबी गरेका थिए ।