जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १५:४०

भारतमा भेटियो ओमीक्रोनको नयाँ उप-भेरियन्ट, खोप लगाउँदा पनि जोखिम


काठमाडौं, २८ साउन । भारतमा कोरोनाको ओमीक्रोन भेरियन्टको नयाँ उप–भेरियन्ट फेला परेको छ । भारतीय मिडियाका अनुसार दिल्लीस्थित लोकनायक जय प्रकाश नाराय (एलएनजेपी) अस्पतालमा भएको अध्ययनमा ओमीक्रोनको नयाँ उप–भेरियन्ट भेटिएको हो ।

अध्ययनकर्ताले यसलाई बीए २।७५ नाम दिएका छन् । एलएनजेपी अस्पतालमा उपचार गराएका ९० जना कोरोना संक्रमितमाथि अध्ययन भएको थियो । ९० बिरामीको नमुना जिन सिक्वीन्सिङका लागि पठाइएको थियो । ९० मध्ये आधा नमुनामा उप–भेरियन्ट बीए २.७५ फेला परेको भारतीय मिडियाले जनाएका छन् ।एलएनजेपी अस्पतालका मेडिकल डाइरेक्टर सुरेश कुमारका अनुसार यो उप–भेरियन्ट धेरै संक्रामक छ । यसले खोप लगाएकालाई पनि प्रभावित बनाउने क्षमता राख्छ । यो उप–भेरियन्टबाट संक्रमित भएका बिरामीलाई ठिक हुन ५ देखि ७ दिन लागिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले भने अहिलेसम्म यो उप–भेरियन्टबारे आधिकारिक जानकारी दिइसकेको छैन । यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ मा राखेको छ । अन्य देशमा यो फैलिएको छैन । यसको आधिकारिक नाम पनि दिइसकेको छैन ।